काठमाडौँ । काठमाडौँ महानगरपालिकाको अनुगमन तथा मूल्याङ्कन समितिले विभाग, सचिवालय, आयोग, एकाइ र वडा कार्यालयबाट २०८२ असोज मसान्तसम्मको प्रगति विवरण माग गर्ने निर्णय गरेको छ ।
विहिबार महानगरपालिकाका उपप्रमुख एवं समितिका संयोजक सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले कार्तिक मसान्तसम्ममा असोज मसान्तसम्मको विवरण माग गर्ने निर्णय गरेको हो ।
स्वीकृत वार्षिक कार्य योजना सबै बजेट कार्यान्वयन एकाइले योजना अनुगमन तथा मूल्याङ्कन एकाइमा पठाउनु पर्नेछ । वैठकले वार्षिक बजेट, योजना तथा कार्यक्रमहरुको अनुगमन तथा मूल्याङ्कन कार्यमा प्रयोग गरिने सूचकसहितको फाराम स्वीकृत गरेको छ । वैठकमा उपप्रमुख डंगोलले, योजना कार्यान्वयन हुने स्थान र अवस्थाबाट अनुगमन कार्य प्रारम्भ गर्ने योजना रहेको बताइन् । प्रशासनिक संयन्त्रबाट भइरहेका कामका विषयमा आफूले नियमित निगरानी गरिरहेको प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले बताए ।
बैठकमा निर्माण कार्य सुरु गर्नुअघि निर्माण सामग्री ल्याउने अनुमति, कार्य तालिकाअनुसारको काम, कार्यतालिका परिवर्तन गर्नु परे औचित्य विश्लेषण, श्रम, सर्त तथा बन्देज, पैदलयात्रीसहित उपभोक्ताप्रतिका दायित्वका विषयमा छलफल भएको थियो । यस्तै निर्माण कार्य सकिएपछिको निश्चित समयमा भएको क्षतिको दायित्व निर्माण पक्षमा रहने विषयमा पनि छलफल भएको थियो ।
वैठकमा समितिका सदस्य सचिव गंगाधर गौत्तमले, अनुगमन गर्दा प्रयोग गरिने फाराममा राखिएका सूचकका विषयमा प्रस्तुति गर्नुभएको थियो ।
अनुगमन टोलीहरु:
यस वर्ष स्वीकृत बजेट, योजना तथा कार्यक्रमहरुको अनुगमन गर्नका सहरी योजना आयोगका सदस्यहरुको संयोजकत्वमा ३ वटा टोली गठन गरिएका छन् । अनगुमन तथा मूल्याङ्कन समितिको असोज २७ गतेको निर्णय अनुसार टोली गठन गरिएका हुन् ।
डा. सुरज काफ्लेको संयोजकत्वमा सुशासन तथा सामाजिक विकास, आर्टिटेक्ट बाबुराम भट्टराईको संयोजकत्वमा सम्पदा तथा भौतिक पूर्वाधार, प्रसुनरत्न बज्राचार्यको संयोजकत्वमा विपद व्यवस्थापन तथा वातावरण अनुगमन टोली गठन गरिएको छ ।
सुशासन तथा सामाजिक समितिलाई प्रशासन, सामाजिक विकास, स्वास्थ्य, सहरी व्यवस्थापन, कृषि तथा पशुपन्छी, सम्पदा तथा पर्यटन (पूर्वाधार निर्माणबाहेकका काम) र सूचना प्रविधि विभाग, सहरी योजना आयोग, योजना अनुगमन तथा मूल्याङ्क एकाइले विनियोजित वार्षिक बजेट, योजना तथा कार्यक्रमको कार्यान्वयन अवस्था अनुगमन गर्ने दायित्व दिइएको छ । यो टोलीलाई वडा नम्बर १ देखि ७ सम्मका वडा कार्यालयहरुको अनुगमन गर्ने दायित्व दिइएको छ ।
सम्पदा तथा भौतिक पूर्वाधार अनुगमन टोलीलाई सम्पदा तथा पर्यटन, सार्वजनिक निर्माण विभाग र वडा नम्बर ८ देखि २० सम्मका वडा कार्यालयहरुले गरेका कामको अनुगमन गर्ने जिम्मेवारी दिइएको छ । विपद व्यवस्थापन तथा वातावरण अनुगमन टोलीलाई वातावरण र विपद व्यवस्थापन विभाग, उद्यान तथा हरियाली प्रवर्धन आयोजना र वडा नम्बर २१ देखि ३२ सम्मको अनुगमन गर्ने दायित्व दिइएको छ ।









