• २०८१ बैशाख २२ शनिबार

संसदीय सुनुवाई समितिले जोशी बारे आज पनि निर्णय गरेन, बुधबार अर्को बैठक बस्ने

kharibot

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई अनुमोदन गर्ने बारे संसदीय सुनुवाई विशेष समितिको आजको बैठकमा कुनै निर्णय नभई बैठक स्थगित भएको छ ।

आज समितिको बैठक बसेपनि कुनै निर्णय भएन । समितिका एक सदस्यका अनुसार प्रस्ताव अनुमोदन नगर्ने निश्चित रहेकोले आजको बैठकमा कुनै निर्णय नभएको र बैठक बुधबार दिउँसो साढे ३ बजेसम्म स्थगित भएको छ। 

जोशी प्रकरणमा सत्तारुध दल नेकपा पनि जोशीलाई संसदीय सुनुवाइबाट अनुमोदन नगर्ने पक्षमा उभिएको देखिएको छ । जोशीबारे निर्णय गर्न समितिको बैठक बस्नुअघि नेकपा सांसदहरूले सिंहदरबारस्थित संसदीय दलका उपनेता सुवास नेम्वाङको कार्यकक्षमा छलफल गरेका थिए । सो छलफलमा पूर्वमहान्यायाधिवक्ता हरि फुयाँल र नेकपा निकट कानुन व्यवसायी  टीकाराम भट्टराई पनि सहभागी थिए।

के हो जोशीको प्रमाणपत्र विवाद ?

सर्वोच्च अदालतबाट १ चैत ०७४ मा प्रधानन्यायाधीश गोपाल पराजुलीको विवादस्पद बहिर्गमनपछि दीपकराज जोशीले कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा अहिले पनि रहेका छन् । नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रको विवादमा यसअघिका प्रधानन्यायाधीश पराजुलीले ठुलो विवादका बीच सर्वोच्च छोडेका थिए । 

अहिले आएर पराजुलीको जस्तै शैक्षिक प्रमाणपत्र विवादमा कामु प्रधानन्यायाधीश जोशी पनि मुछिएका छन् । जोशीले विहिबार समितिमा बुझाएको एसएलसीको सिम्बोल नंम्बर (३६६७) अर्कै व्यक्तिको नाममा भेटिएपछि समिति जोशीको नाम अनुमोदन गर्न हच्किएको समितिका सदस्यहरु बताइरहेका छन् । समितिकै एक सदस्यले खरीबोटसँग कुरा गर्दै उक्त सिम्बोल नंम्बरको परिक्षा बोर्डमा हेमराज लेकालीको नाममा रहेको भेटिएको छ तर यो फोटोकपी रहेकाले यसको छानबिन भइरहेको बताए । 

जोशीको परीक्षाको लब्धांक र चारित्रिक प्रमाणपत्रमा नेपाल राष्ट्रिय विद्यापीठबाट ०२९ सालमा उत्तीर्ण भएको देखिन्छ । नेपाल राष्ट्रिय विद्यापीठको वीरगन्ज बोर्डको नक्सालस्थित नन्दीरात्रि मावि केन्द्रबाट सञ्चालित ०२९ को प्रवेशिका परीक्षामा तेस्रो श्रेणीमा उत्तीर्ण भएका जोशीलाई शिक्षा मन्त्रालयको परीक्षा विभागले ३६६७ सिम्बोल नम्बरको चारित्रिक प्रमाणपत्र उपलब्ध गराएको छ ।

उनले सोही वर्ष काठमाडाैं विजय मेमोरियल स्कुलबाट दिएको परीक्षामा पनि ३६६७ सिम्बोल नम्बर उल्लेख छ । ०३० सालमा नेपाल ल क्याम्पस भर्ना हुँदा विजय मेमोरियल स्कुलबाट एसएलसी पास भएको उल्लेख गरेका छन् ।

कान्तिपुर दैनिकमा यसअघि श्रावण ८ गते दुइतिरको परिक्षामा एउटै सिम्बोल नम्बर फेला परेको समाचार प्रकाशित भएको थियो। ‘जोशी २०२९ सालमा १० कक्षा उत्तीर्ण भएको उल्लेख छ। त्यही प्रोग्रेस रिपोर्टको अर्को खण्डमा हाईस्कुल (माध्यमिक तह) पास गरेको विवरण भर्ने क्रममा उनले विजय मेमोरियल हाईस्कुलको नाम लेखेका छन्। पास भएको मिति २०२९ साल र सिम्बोल नम्बर ३६६७ उल्लेख छ। नेपाल राष्ट्रिय विद्यापीठको वीरगन्जस्थित प्रधान कार्यालयबाट जारी भएको प्राप्तांक विवरणमा पनि जोशीको सिम्बोल नम्बर ३६६७ नै लेखिएको छ’, कान्तिपुरले समाचारमा उल्लेख गरेको छ।

जोशी २४ असोज ०११ मा जन्मिएका हुन् । प्रधानन्यायाधीशको उमेर हद ६५ वर्ष रहेको हुँदा जोशी प्रधानन्यायाधीश नियुक्ति भएमा २४ असोज ०७६ सम्म उनको कार्यकाल रहनेछ । ०३६ सालमा कानुन व्यवसायीका रूपमा अभ्यासमा आएका जोशी ११ वर्षभन्दा बढी निरन्तर कानुन व्यवसायमा सामेल थिए ।

समितिले के गर्ला ?

संसदीय सुनुवाइ समितिको दुईतिहाइ अर्थात् १५ मध्ये १० सदस्यले अस्वीकृत गरेमा प्रस्तावित व्यक्ति सम्बन्धित पदमा नियुक्त हुन नसक्ने व्यवस्था छ । हालको सुनुवाइ समितिमा नेकपाका ९ र फोरमका एक गरी सत्तारुढ दलका १० सदस्य छन् । कांग्रेसका ४ र राजपाबाट एकजना सदस्य छन् । यसरी जोशीको नियुक्ति रोक्ने वा नरोक्ने निर्णायक मत सत्तारुढ दलका सांसदहरूसँग रहेको छ ।

समितिमा नेकपाका सुरेन्द्र पाण्डे, योगेश भट्टराई, अमृता थापा, निरूदेवी पाल, पार्वत गुरूङ, पूर्णाकुमारी सुवेदी, शिवकुमार मण्डल, सुमन प्याकुरेल र नन्दा चपाईं सदस्य छन् । कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की, भीमसेनदास प्रधान, पुष्पा भुसाल गौतम र जितेन्द्रनारायण देव सदस्य छन् । राजपाका लक्ष्मणलाल कर्ण र संघीय समाजवादी फोरमका राजेन्द्रप्रसाद श्रेष्ठ सदस्य छन् ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै