मभित्रको जिन्दगी (कथा)

खरीबोट

एक तमासको छ मन । किनकि आज धेरै समयपछि सम्झिने समय मिलेको छ । जिन्दगी यसरी बितिरहेको छ कि फर्केर हेर्नका लागि कुनै अवसरको प्रतीक्षा गर्नुपर्ने भएको छ । 

त्यो अवसरको सदुपयोग गर्दै आज जिन्दगीका पानाहरु पल्टाएर चिहाउने मौका मिलेको छ तर त्यहाँ नराम्रो अक्षरहरु देखेर मनमा छटपटी भएको भने होइन । लेखिएका कहानी धेरै सुनौलो होस् र वास्तविक जीवन कहाली लाग्दो होस्, पाना पल्टाउँदा सबैभन्दा दुःख लाग्दो कुरा यही हो । 

कुनै समय साँच्चै आनन्द लाग्दो थियो, जहाँ सबै आफ्ना थिए र आफूमा कुनै किसिमको समस्या हुनुभन्दा पहिला नै त्यसको समाधान खोजिदिने मानिसहरु थिए, सायद त्यति बेलाको समस्या नै साना थिए होला, जुन जो कोहीले पनि समाधान गर्नसक्थ्यो । 

के समस्याको आकारसँगै मेरो क्षमता विस्तार भएन त ? त्यो पनि होइन म विस्तार भएँ तर जसले समस्या समाधान गर्थे अहिले उनीहरुका लागि म नै समस्या बन्नपुगेको छु । आफ्ना मानिएका मानिसहरु पराइ भएका छन्, त्यसैले हिजोका सुनौला पानाहरु अहिले फिका बन्न पुगे । 

कसैले बेवास्ता गरिरहेको छ भन्ने पनि थाहा छ, कसैलाई म मन परिरहेको छैन भन्ने पनि थाहा छ, म आफ्नो बाटोबाट विचलित हुँदै छु भन्ने पनि थाहा छ र हिँड्नुपर्ने बाटो कुन हो भन्ने पनि थाहा छ । 

तर समस्या थाहा नपाउनुको होइन, समस्या स्वीकार गर्न नसक्नु हो । कसैले तँ नराम्रो छस् भन्छ, भोलिपल्टदेखि ऐना हेर्न छाडिदिन्छु, कसैले तँ धेरै बोल्छन् अलि कम बोल्ने गर् भन्छ, म सुनेको नसुनेझैं गरिदिन्छु, कहिलेकाँही हाकिमले काममा ध्यान दिन निर्देशन दिन्छन्, म जिन्दगीको मोल सोधिदिन्छु, घरमा बाबाले पढाइ कहाँ पु¥याइस् भनेर सोध्दा म पल्लोघरमा बस्ने शिक्षकको चरित्र सुनाइदिन्छु । 

कसैको केही परवाह लाग्दैन तर जब मनले भन्छ, “तँ साह्रै अभागी रहेछस्”, साँच्चै डाँको छाडेर रुन मन लाग्छ तर आजसम्म त्यस्तो आत्मीयता कोहीसँग पनि पाएको छैन कि कसैको सामु धित मरुन्जेल रुन सकूँ । 

अनि फेरि लाग्छ, हाँस्ने र खेल्ने बेलामा राम्रोसँग मुस्कुराएको भए, आँटेका काममा सफलता पाएको भए र दुःख लागेको बेलामा रुन पाउने भए त साँच्चै भाग्यमानी भइहाल्थें नि.......... । 

दुःख होस् वा सुख ल्याएर थुपार्ने ठाउँ भएको मन, एउटा डस्बिनजस्तो । यहाँ फालिएका खुसीहरु सबै कुहिएर जान्छन् तर दुःखहरु प्लास्टिकजस्तै छन्, जो कहिल्यै कुहिँदैन र गल्दैन पनि समयसँगै त्यहाँ फालिएका दुःखहरु केही छोपिन्छन् तर त्यसलाई छोप्ने अर्को दुःखसँगै फेरि मन गह्रौँ नै हुन्छ, सधैंका लागि । धेरै मिहिनेत गरेर मनबाट दुःख निकाल्ने हो भने पनि आउने खुसीहरु केही समयका लागि मात्र हुन्छन् । 

जीउ त भारी छैन तैपनि बसेको ठाउँबाट उठ्न फेरि किन गाह्रो ?”, कसैले सोध्दै थियो । मैले मौन उत्तर दिएँ, “मेरो मनको भार नाप्ने हो भने सायद यो धर्तीको तौल फिका पर्न जान्छ, त्यसैले होला अहिलेसम्म कसैले यसको नापजाँच गर्ने हिम्मत गरेको छैन ।”

मन यति गह्रौँ छ कि यसको भार थाम्न नसकी पूरै जीवन ढलिसकेको छ तर सास फेर्न अझै छाडेको छैन । आफूले सजाएका सपनाहरु सबै खरानी भइसकेका छन् तर सम्झना त्यो सपनाभन्दा पर छैन, अपेक्षाहरुले लात मारिसकेका छन् तर त्यसलाई अझै स्वीकार गर्न सकिएको छैन । 

भन्छन् संसारलाई देखाउन सजिलो छ तर म आफ्नो मन देखाउन सक्दिन, मनका सबै पीडाहरु खुलस्त पार्न सक्दिनँ । सबैले सोच्छन् यसको त गज्जब चलिरहेको छ जीवन तर पूरै जिन्दगी ढलेको छ तर परिस्थितिअनुसार पूरै बल लगाएर अलिअलि घिस्रिरहेको छ ।

साँच्चै मभित्रको जिन्दगी त्यो पर डाँडाबाट उदाउने घामजस्तै छ.... बिहानै उदाउँछ.....म सबेरै निस्की हिँड्छु....दिउँसो केही अजिव लाग्ने गरी चर्किन्छ.... मेरो मुटुको धड्कन केही बढी नै भइरहेको हुन्छ.....त्यसपछि सौर्यरश्मिसँगै लत्रिँदै लत्रिँदै त्यो पारि देखिने शिखरपछाडि लुकेझैँ..... बेलुकीको थकान र निद्रासँग फेरि सुनौला सपना देख्दै निदाउँछु । वाह ! मभित्रको जिन्दगी !
 

सम्बन्धित समाचार

इँटाको घर [कथा]

सबैलाई बनाउनै पर्छ यौटा घर । बस्न हुने । सुत्न मिल्ने । पाहुना आउँदा हच्किन नपर्ने । हुरि आउदा दच्किन नपर्ने । उसलाई पनि बनाउनु थियो यौटा घर । सानो । चिटिक्कको

एउटा अनौठो कथा – ओ. हेनरी 

•    अमेरिकी साहित्यका सर्वाधिक लोकप्रिय अमेरिकी कथाकार ओ. हेनरी (१८६२-१९१०)को वास्तविक नाम विलियम सिड्नी पोर्टर हो । उनको नाम कसरी ओ. हेनरी रह्यो भन्नेबारे अझै पनि इतिहासकारहरूबीच मतभेद रहने गरेको

कारिन्दाको मृत्यु (आन्तोन चेखव)

आंतोन चेखव (१९८०-१९०४) एक चर्चित रुसी नाट्यकार तथा कथाकार थिए जसलाई इतिहासकै सबै भन्दा महान् कथाकार मानिन्छ ।  प्रस्तुत छ  अनुप जोशीद्वारा  गरिएको उनको कथा  'द डेथ अफ एन अफिसियल'को  नेपाली

एउटा 'टर्निङ प्वाइन्ट' ! [कथा]

खाना खाएर फेसबुक अन गरेँ । मलाई फेसबुकको लत लागिसकेको थियो । दिनहुँ राति घन्टौँसम्म ऊसँग कुराकानी हुन्थ्यो । दु:ख अनि सुखका रमाइला गफगाफ हुन्थे । कुराकानी यसरी लम्बिन्थ्यो कि


z