काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक लुम्बिनी प्रदेशको रोल्पा पनि चर्चामा रहेको छ । यस क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका नेता बर्षमान पुन उम्मेदवार रहेका कारण यो क्षेत्र चर्चामा रहेको छ ।
रोल्पा जिल्ला एक संसदीय निर्वाचन क्षेत्र भएको जिल्ला हो । यस जिल्लामा एक नगरपालिका र ९ गाउँपालिका रहेका छन् । रोल्पामा रोल्पा नगरपालिका, त्रिवेणी गाउँपालिका, परिवर्तन गाउँपालिका, माडी गाउँपालिका, रुन्टीगढी गाउँपालिका, लुङग्री गाउँपालिका, गङ्गादेव गाउँपालिका, सुनछहरी गाउँपालिका, सुनिलस्मृति गाउँपालिका र थवाङ गाउँपालिका रहेका छन् ।
निर्वाचन आयोगका अनुसार रोल्पामा मतदान गर्न सक्ने कुल मतदाताको संख्या एक लाख ४९ हजार ५९७ जना रहेका छन् । यस क्षेत्रमा यस निर्वाचनमा १८० मतदान केन्द्र तोकिएको छ ।
पछिल्लो निर्वाचन- २०७९
२०७९ को निर्वाचनमा रोल्पाबाट तत्कालिन माओवादी केन्द्रका बर्षमान पुन विजयी भएका थिए । पुनले ४१ हजार ७१४ मत प्राप्त गरेका थिए । उनलाई कांग्रेसले समर्थन गरेको थियो । त्यस्तै दोस्रो भएको एमालेका पूर्ण बुढामगरले १६ हजार ४८५ मत प्राप्त गरेका थिए ।
त्यस्तै २०७९ मा समानुपातिकतर्फ तत्कालिन माओवादी केन्द्रले २८ हजार १५९ मत प्राप्त गरेको थियो भने नेपाली काँग्रेसले १५ हजार ७० मत प्राप्त गरेको थियो । त्यसैगरी एमालेले ११ हजार ८५७ मत पाएको थियो भने रास्वपाले १९०४ मत प्राप्त गरेको थियो ।
उम्मेदवार- २०८२
यस निर्वाचनमा रोल्पामा राजनीतिक दलबाट १० उम्मेदवार बनेका छन् । नेपाली कम्युनिष्ट पार्टीबाट बर्षमान पुन फेरी उम्मेदवार बनेका छन् । त्यस्तै नेपाली काँग्रेसले ३४ बर्षिय युवा सुदन कुमार वलीलाई चुनावी मैदानमा उतारेको छ । त्यसैगरी एमालेबाट गोकुल प्रसाद घर्ति उम्मेदवार बनेका छन् भने रास्वपाबाट बलराम थापा उम्मेदवार बनेका छन् ।
निष्कर्ष:
२०७४ र २०७९ मा सजिलै जितेका बर्षमान पुनलाई यस अघि जस्तो सहज नहुने देखिएको छ । अघिल्लो चुनावमा काँग्रेससहितको गठबन्धनबाट उम्मेदवार बनेका थिए भने यस पटक सबै दलका उम्मेदवार चुनावी मैदानमा रहेका छन् । खासगरी काँग्रेसले युवा र सशक्त उम्मेदवार दिएर पुनलाई अलिकति मुश्किल बनाएको स्थानीयहरुले चर्चा गरेका छन् । तत्कालिन माओवादी र अहिलेको नेकपाको गढ भएको जिल्ला भएकाले चुनाव पुनले नै जित्ने तर उनलाई यस पटक चुनौती हुने देखिएको छ । स्थानीयहरुले यसअघिको जस्तो अन्तर नहुने बताउछन् । देशव्यापी रुपमा परिवर्तनको पक्षमा जनता रहेकाले र नयाँ तथा युवा उम्मेदवारले दिएको चुनौतीलाई पुनले कसरी सामना गर्छन् त्यो रोचक हुने देखिन्छ ।









