काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले श्रीराम ग्यास उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ ।
हरिसिद्धिस्थित गोदाममा भण्डारण गरिराखेको अवस्थामा १४.२ किलो भरिएका संख्या ६ हजार ३७७ थान ग्यास सिलिण्डर भेटिएपछि ३ लाख जरिवाना गरेको विभागले जनाएको छ ।
सोमबार विभागको निरीक्षण टोलीले उक्त उद्योगलाई जरिवाना गरेको हो । मौज्दातमा रहेको ग्यास सिलिण्डर नेपाल आयल निगमको समन्वय र रोहवरमा बिक्री वितरणको व्यवस्था मिलाउन निर्देशन दिइएको विभागले जनाएको छ ।
साथै ग्यासको माग उच्च रहेको अवस्थामा आपूर्तिमा असर गर्ने गरी कृत्रिम अभाव सिर्जना गर्ने कार्य नगरी वितरण प्रणाली सहज गर्न समेत विभागले ग्यास उत्पादक (बोटलिङ) उद्योग र वितरकलाई आग्रह गरेको छ ।
विभागले ग्यास तथा इन्धनको अस्वाभाविक व्यापारिक क्रियाकलाप सञ्चालन भएको पाइएमा टोल फ्रि नम्बर ११३७ मा जानकारी गराउन समेत अनुरोध गरेको छ ।









