काठमाडौँ । निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण गरेको छ ।
आयोग परिसरमा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयोगक रामप्रसाद भण्डारीसहित आयुक्तहरुले समानुपातिक तर्फका ११० सांसदहरुलाई प्रमाण पत्र वितरण गरेका हुन् ।
समानुपातिक निर्वाचनतर्फ रास्वपाबाट ५७, नेपाली कांग्रेसबाट २०, नेकपा एमालेबाट १६, नेकपाबाट ९, श्रम संस्कृति पार्टी र राप्रपाबाट ४-४ जना सांसद निर्वाचित भएका छन् ।
आयोगले यस पछि आजै राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाउने गरी तयारी गरेको छ । आयोगले निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएपछि नेपालको संविधान, २०७२ को धारा ७६ (१) अनुसारको सरकार गठनका लागि आह्वान गर्ने बाटो खुल्ने भएको छ ।
यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा बढी १८२ सिट जितेर दुई तिहाई नजिकको जनादेश पाएको छ ।
यसैबीच नवनिर्वाचित सांसदहरुको शपथ करिब चैत्र १२ गते खुवाउने र नयाँ प्रतिनिधिसभाको पहिलो बैठक १५ गते बस्ने गरि तयारी अगाडी बढेको बुझिएको छ । संसद अधिवेशनका लागि सिंहदरबारमा निर्माणाधीन संसद भवनकै नजिक अस्थायी हल निर्माणको काम अन्तिम चरणमा रहेको छ ।









