• २०८३ बैशाख ४ शुक्रबार

प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारी तथा कर्मचारीको भेटवार्ता

प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारी तथा कर्मचारीको भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारी तथा कर्मचारीको भेटवार्ता भएको छ ।

बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री कार्कीले आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय जानकी तुलाधर, सगुनशमशेर जबरा, सचिव कृष्णबहादुर राउतलगायत कर्मचारीको टोलीलाई बोलाएर प्रतिनिधि सभाको निर्वाचन तोकिएकै मितिमा स्वच्छ र निष्पक्ष ढंगले सम्पन्न गर्न सफल भएकोमा बधाई पनि दिएकी छन् ।

उनले आयोगले गरेको मेहनतको उच्च सह्राहना गर्दै नेपालको निर्वाचन इतिहासमा गुणस्तरीय निर्वाचनको मानक स्थापित भएकोमा प्रसन्नता पनि व्यक्त गरेकी थिइन् । अनेकौँ चुनौतीको सामना गरेर निर्वाचनको पक्षमा दृढतापूर्वक उभिएर काम गर्ने क्षमता आयोगको नेतृत्वमा देखिएको भन्दै उनले प्रशंसा पनि गरेकी थिइन् ।

प्रधानमन्त्री कार्की भनिन्- 'निर्वाचन घोषणा हुनासाथ तपाईँहरुले जुन मेहनत र प्रतिबद्धताका साथ काम गर्नुभयो, त्यसैको परिणामस्वरुप आज तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुन सकेको हो। गुणस्तरीय निर्वाचनको मानक स्थापना गर्न सम्भव भएको छ। सुशासनको प्रस्थानविन्दु नै गुणस्तरीय निर्वाचन हो। तसर्थ यो सफलता दिगो लोकतन्त्रका लागि पनि ऐतिहासिक र महत्त्वपूर्ण छ। यो सफलता हामी सबैको खुसी र गौरवको विषय हो।’ 

आयोगका तर्फबाट कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचनको नतिजा प्रतिवेदनको एक प्रति प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नामलगायतको पनि उपस्थिति थियो।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै