• २०८३ बैशाख १० बिहीबार

जुम्लाको विद्यालयमा छात्रवृत्ति रकम हिनामिनाको आरोपमा प्रधानाध्यापकविरुद्ध मुद्धा दायर

जुम्लाको विद्यालयमा छात्रवृत्ति रकम हिनामिनाको आरोपमा प्रधानाध्यापकविरुद्ध मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लास्थित एक विद्यालयमा छात्रवृत्ति रकम हिनामिना गरिएको अभियोगमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

जुम्लाको तातोपानी गाउँपालिका–१ राँकास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक र लेखा सहायकले विगत पाँच वर्षदेखि छात्रवृत्ति रकम वितरण नगरेको र दिवाखाजा शीर्षकको रकमसमेत दुरुपयोग गरेको उजुरीका आधारमा आयोगले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानका क्रममा आर्थिक वर्ष २०७९/०८० मा उक्त विद्यालयलाई प्राप्त १ लाख ४५ हजार ३५० रुपैयाँ छात्रवृत्ति रकम सम्बन्धित छात्राहरूलाई वितरण नगरी हिनामिना गरिएको पाइएको आयोगले जनाएको छ ।

प्रधानाध्यापक नरेन्द्रबहादुर महतले भने छात्रवृत्ति वितरण गरिएको देखाउने गरी नक्कली भरपाई तयार गरी गाउँपालिकामा पेश गरेको पाइएको छ ।

भरपाईमा मिति सच्याइएको, केरमेट गरिएको तथा पुरानै विवरण दोहोर्याइएको भेटिएको छ । आयोगको टोलीले स्थलगत अनुसन्धान गर्दा भरपाईमा नाम रहेका छात्राहरूले आफूहरूले छात्रवृत्ति रकम नपाएको बताएका थिए ।

आयोगका अनुसार प्रतिवादीहरूले मिलेमतोमा झुट्टा कागजात तयार गरी सार्वजनिक रकम हिनामिना गरेका हुन् । यसबाट तातोपानी गाउँपालिका र विद्यालयलाई गैरकानुनी हानि पुगेको तथा संलग्न व्यक्तिहरूले अवैध लाभ लिएको निष्कर्ष निकालिएको छ ।

उक्त कसुरमा संलग्न प्रधानाध्यापक तिल प्रसाद भट्टराई र लेखा सहायक कृष्ण धामीलाई कानुनअनुसार सजायको माग गर्दै विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै