काठमाडौँ । इरानले अमेरिकाले प्रस्ताव गरेको ४८ घण्टे युद्धविराम अस्वीकार गरेको छ । इरानी अर्धसरकारी समाचार संस्था फार्सका अनुसार उक्त प्रस्ताव तेस्रो मुलुकमार्फत तेहरान पठाइएको थियो, तर इरानले त्यसलाई स्वीकार नगरेको जनाएको छ ।
यसअघि इरानले शुक्रबार दुई अमेरिकी लडाकु विमान खसालिएको दाबी गरेको छ । इरानका अनुसार एक एफ- १५ ई लडाकु विमान र अर्को ए- १० आक्रमणकारी विमान खसालिएको हो । एफ- १५ ई विमान इरानभित्र आक्रमणका क्रममा निशाना बनेको र त्यसमा सवार एक सदस्यको उद्धार गरिएको भए पनि अर्को अझै बेपत्ता रहेको जनाइएको छ ।
इरानी सञ्चारमाध्यमका अनुसार ए- १० विमान पर्सियन खाडी क्षेत्रमा खसेको हो । यद्यपि अमेरिकी अधिकारीहरूले उक्त विमान दुर्घटनामा परेको हो वा खसालिएको हो भन्ने विषय स्पष्ट नभएको बताएका छन् । साथै, अमेरिकी सञ्चारमाध्यमले इरानी आक्रमणमा दुई अमेरिकी हेलिकप्टर पनि प्रभावित भएको जनाएका छन् ।
ती हेलिकप्टर ‘ब्ल्याक हक’ प्रकारका रहेको र हराइरहेको पाइलटको खोज तथा उद्धारका लागि पठाइएको बताइएको छ । करिब पाँच हप्तादेखि जारी युद्धमा पहिलो पटक अमेरिकी विमानहरू खसालिएको दाबी सार्वजनिक भएको हो । यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यी घटनाले इरानसँगको वार्तामा कुनै असर नपर्ने बताएका छन् ।
यसैबीच इरानले अमेरिकी पाइलटलाई पक्राउ गर्नेलाई करिब ९० लाख नेपाली रुपैयाँ बराबरको इनाम घोषणा गरेको छ । सरकारी सञ्चारमाध्यममार्फत नागरिकलाई पाइलटलाई जीवितै नियन्त्रणमा लिएर सुरक्षाकर्मीलाई बुझाउन आग्रह गरिएको छ ।
अमेरिका र इजरायलको आक्रमणबीच पनि इरानले आफ्ना क्षेप्यास्त्र भण्डारहरू पुनः सक्रिय बनाइरहेको दाबी गरिएको छ । अमेरिकी गुप्तचर प्रतिवेदनअनुसार आक्रमणपछि केही घण्टामै भूमिगत संरचनाबाट अवशेष हटाएर पुनः सञ्चालनमा ल्याइँदैछ ।
प्रतिवेदनमा इरानसँग ठूलो संख्यामा क्षेप्यास्त्र र चलायमान प्रक्षेपण साधन सुरक्षित रहेको उल्लेख छ । यसले इरानको सैन्य क्षमता पूर्ण रूपमा समाप्त नभएको संकेत गरेको छ । अमेरिकी निकायका अनुसार आक्रमणमा कति प्रक्षेपण साधन नष्ट भए भन्ने अझै स्पष्ट छैन, किनकि इरानले नक्कली संरचना पनि प्रयोग गरेको बताइएको छ । अमेरिकी सरकारी प्रतिवेदनले इरानको ९० प्रतिशत हतियार संरचना ध्वस्त भएको दाबि गरेपनि युद्ध विश्लेषकहरुले अहिलेसम्म इरानको करिब आधा मात्र हतियार संरचना ध्वस्त भएको विश्लेषण गरेका छन् ।









