• २०८३ बैशाख ४ शुक्रबार

इरानलाई एकै रातमा समाप्त पार्न सक्छौं- ट्रम्प

इरानलाई एकै रातमा समाप्त पार्न सक्छौं- ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्धबारे कडा अभिव्यक्ति दिएका छन् । गएराती आयोजित पत्रकार सम्मेलनमा उनले अमेरिका चाहेको खण्डमा एकै रातमा इरानलाई समाप्त गर्न सक्ने चेतावनी दिएका हुन् ।

ट्रम्पले इरानविरुद्धको युद्ध आफूहरूको योजनाअनुसार अघि बढिरहेको दाबी गरे । आवश्यक परे जुनसुकै बेला कडा कदम चाल्न सकिने भन्दै उनले दबाब बढाएका छन् ।

इरानमा फसेका अमेरिकी पाइलटको उद्धारलाई उनले ऐतिहासिक अभियान बताएका छन् । उनका अनुसार उद्धारका लागि ठूलो जोखिम उठाइएको थियो । एक-दुई जनालाई बचाउन सयौंको ज्यान जोखिममा राखियो' उनले भने ।

उद्धार अभियानका क्रममा १५५ सैन्य विमान परिचालन गरिएको थियो । तीमध्ये लडाकु विमान, बमवर्षक, इन्धन भर्ने ट्यांकर र उद्धार विमान समावेश थिए । विभिन्न दिशाबाट विमान पठाएर दुश्मनलाई झुक्याउने रणनीति अपनाइएको उनले बताए ।

ट्रम्पका अनुसार हालसम्म इरानका १३ हजारभन्दा बढी स्थानमा आक्रमण गरिएको छ भने ३७ दिनमा १० हजारभन्दा बढी लडाकु उडान सम्पन्न भएका छन् । उनले पहिलो पटक इरानले अमेरिकी एफ-१५ विमान खसालेको स्वीकार गरे । तर त्यो दुर्भाग्यवश भएको घटना मात्र भएको उनको भनाइ थियो ।

घाइते पाइलटको साहसबारे पनि उनले चर्चा गरे । विमान खसेपछि पाइलट प्यारासुटबाट झरेर गम्भीर घाइते अवस्थामै पहाडी क्षेत्रमा चढ्दै आफूलाई जोगाउन सफल भएको उनले बताए । पछि हेलिकप्टरमार्फत सुरक्षित उद्धार गरिएको जानकारी दिए ।

उद्धार अभियानबारे सबै सैन्य सल्लाहकार एकमत नभएको पनि ट्रम्पले स्वीकार गरे । जोखिम अत्यधिक भएकाले केही अधिकारीहरूले विरोध गरेको उनले बताए । तर रक्षा नेतृत्वले भने अभियानलाई समर्थन गरेको उनको भनाइ थियो ।

सूचना चुहावटप्रति पनि उनले कडा चेतावनी दिएका छन् । इरानमा फसेका अर्को पाइलटबारे जानकारी सार्वजनिक गर्ने व्यक्ति र सञ्चारमाध्यममाथि कारबाही गर्न सकिने उनले बताए । पत्रकार सम्मेलनमा ट्रम्पले इरानका नागरिकबारे पनि टिप्पणी गरे । आक्रमणका कारण पीडा भए पनि अन्ततः स्वतन्त्रताका लागि त्यो सहन तयार हुने उनले दाबी गरे ।

युद्ध अन्त्यतर्फ गएको हो कि अझ बढ्ने भन्नेबारे उनले स्पष्ट बताएनन् । उनले भने- 'अहिलेको अवस्था धेरै महत्वपूर्ण छ, सबै कुरा उनीहरूले के गर्छन् भन्नेमा निर्भर छ ।'

सो अवसरमा उनको स्वास्थ्यको विषयमा पत्रकारहरुले सोधेको प्रश्न भने उनले खारेज गरेका थिए । उनको मानसिक अवस्थाको बारेमा समेत प्रश्न सोधिएको थियो । सामाजिक सञ्जालमा ट्रम्पले इरानलाई गाली गर्दै पोष्ट गर्न शुरु गरेपछि उनको मानसिक स्वास्थ्यको बारेमा प्रश्न उठाइएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै