काठमाडौं । रुवाण्डामा आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्न जाने नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार एक कार्यक्रम आयोजना गरेर नेपाली महिला टिमको बिदाई गरेको हो ।
नेपाली टिममा इन्दु बर्मा (कप्तान), पुजा महतो (उपकप्तान), रुबिना क्षेत्री, बिन्दु रावल, मनिषा उपाध्याय, सम्झना खड्का, रुवि पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, अनु कडायत र रचना चौधरी रहेका छन् ।
रुवाण्डा क्रिकेट संघले आयोजना गर्ने पहिलो आइसीसी महिला च्यालेन्ज ट्रफी अप्रिल १८ देखि मे २ सम्म हुदैछ । यस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने टोलीहरूमा अमेरिका क्षेत्रबाट संयुक्त राज्य अमेरिका, एसियाबाट नेपाल, युरोपेली क्षेत्रबाट इटाली, पूर्वी एसिया-प्रशान्त क्षेत्रबाट भानुआटु र अफ्रिकाबाट आयोजक रुवान्डा रहेका छन् ।
नेपालले पहिलो खेल अप्रिल १८ मा अमेरिकाविरुद्ध खेल्ने छ भने दोस्रो खेल अप्रिल १९ मा इटालीसँग अप्रिल २२ मा रुवाण्डासँग, अप्रिल २४ मा भानुआटुमा, अप्रिल २६ मा अमेरिकासँग, अप्रिल २८ मा रुवाण्डासँग, अप्रिल ३० मा भानुआटुसँग र मे १ मा इटालीसँग खेल्ने तालिका रहेको छ ।
नेपाली टिमको मुख्य प्रशिक्षक हर्षल पाठक रहेका छन् ।









