काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन २०७४ विपरीत काम गराइएको भन्दै विभिन्न स्वास्थ्य संस्था तथा प्रतिष्ठानहरूबारे गुनासा आएपछि ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयका अनुसार केही अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, नर्सिङ्ग स्टाफ लगायतलाई नियमअनुसार श्रम सम्झौता नगरी काममा लगाइएको र तोकिएको समयभन्दा बढी काम गराइएको भन्ने उजुरी प्राप्त भएको र प्रशिक्षार्थीहरूबाट समेत यस्ता गुनासा आएको जनाउदै श्रम ऐनअनुसार रोजगारदाता र श्रमिकबीच रोजगार सम्झौता अनिवार्य गर्न निर्देशन दिएको छ ।
साथै मन्त्रालयले दैनिक ८ घण्टा र साप्ताहिक ४८ घण्टाभन्दा बढी काम लगाउन नपाइने, आवश्यक परे सीमित अतिरिक्त समय मात्र काम लगाउन पाइने कानुनी प्रावधान रहेको उल्लेख गर्दै सोहि अनुसार गर्न निर्देशन दिएको छ ।
मन्त्रालयले सबै रोजगारदातालाई प्रचलित कानूनको पूर्ण पालना गर्न आग्रह गर्दै साथै, नियमविपरीत कार्य गरेको पाइएमा श्रम ऐन २०७४ अनुसार कारबाही गरिने चेतावनी पनि दिएको छ ।









