• २०८३ बैशाख १२ शनिबार

लघुकथा: रिटायर

लघुकथा: रिटायर

एक समयकी नम्बर एक नायिका हो– रञ्जना । ऊ सुन्दर पनि उस्तै; उसको अभिनय पनि उस्तै बेजोड । सुटिङ् स्थलमा रञ्जनाका लागि हरबखत तयारीका अवस्थामा रहन्थे– मेकअपमेनहरू । मानौ, उनीहरूको चिन्ता सधैं रञ्जनाको मेकअपसंग रहन्छ ।

कुन्नि के भएर हो; रञ्जना आफ्ना लालाबालासहित शहरको मध्यम स्तरको होटलमा बस्न आएकी रहिछे– हिजो ।

अनेकन् अनुनय विनय गर्दा पनि सरकारिया गेस्ट रुममा बस्न नपाएपछि त्यही होटलमा बस्न आउनु भएको थियो– पूर्व सिडियो सा’ब हेमलाल पनि ।

बिहान रेस्टुरेन्टमा हेमलाललाई एउटा अनुहार चिनेचिने जस्तो लाग्यो । गहिरिएर हेर्दा स्पष्ट भयो– रञ्जना रहिछे । हेमलालले मनमनै भन्नु भो’– “छ्या, मेकअप नहुँदा त यस्ती पो रहिछे!"

रिटायर हुनुअघि हेमलालको तामझाम नै बेग्लै । दबदबा पनि । मोटर, सुरक्षा, शक्ति के थिएन र! आदेश दिए पुग्थ्यो; आदेश उचित थियो कि अनुचित भन्ने कुरा आदेश फत्ते भएपछि मात्र सोचिन्थ्यो ।

पूर्व सिडियो हेमलालले मनमनै फेरि भन्नु भो’– ‘रञ्जना, मेकअप नहुँदा तिमी बेग्लै; पदमा नहुँदा म पनि बेग्लै ।... तिमीलाई मैले चिनें; हेर न, रिटायर भएको भोलिपल्ट मलाई त पालेले पनि चिन्न इन्कार गरिदियो ।‘

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै