काठमाडौं । सगरमाथाको फेदीमा १३ वर्षदेखि बन्द अन्तर्राष्ट्रिय पिरामिड प्रयोगशाला पुनः सञ्चालनमा आएपछि यसको प्रभावकारिता बढ्न थालेको छ ।
सगरमाथाको फेदीमा अवस्थित यो प्रयोगशाला सन् २०१३ देखि बन्द रहेकामा हाल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मार्फत पुनः सञ्चालनमा आएको हो । दुई बर्षअघि पुनः संचालनमा आएको यो प्रयोगशालामार्फत महत्वपूर्ण कामहरु हुँदै आएको छ । सोलुखुम्बुको लोबुचेमा ५०५० मिटरको उचाइमा रहेको पिरामिड अन्तर्राष्ट्रिय प्रयोगशाला उच्च भू–भागको अध्ययन गर्ने अत्याधुनिक अनुसन्धान केन्द्र हो ।
प्रयोगशालामा कार्यरत व्यवस्थापक तथा प्राविधिक कर्मचारी काजी विष्टका अनुसार वायुमण्डलीय प्रदूषण, जलवायु परिवर्तन, मौसम तथा हिमाली वातावरणमा पर्ने असरबारे अध्ययन गरिन्छ । साथै, मौसमसम्बन्धी तथ्यांक हावाको चाप, तापक्रम, आद्र्रता, वर्षा तथा सौर्य विकिरण रियल टाइममा संकलन र अद्यावधिक गरिन्छ ।
प्रयोगशालामा दुई दशकभन्दा बढी समयदेखि कार्यरत विष्ट भन्छन्, ‘मेरो घर भोजपुर हो । म पिरामिड अन्तर्राष्ट्रिय प्रयोगशालामा काम गर्छु र यहाँ काम गरेको करिब २२ वर्ष हुन लाग्यो । म यहाँ म्यानेजर तथा प्राविधिक कर्मचारीका रूपमा कार्यरत छु ।’ उनका अनुसार यो परियोजना नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र इटालियन राष्ट्रिय अनुसन्धान परिषद् (सिएनआर) इटालीको संयुक्त सहकार्यमा सञ्चालन हुँदै आएको छ ।
विष्टले प्रयोगशालामा हुने अनुसन्धानबारे थप्दै भने, ‘यहाँ विभिन्न प्रकारका प्रदूषण जस्तै ब्ल्याक कार्बन, मरकरी लगायत र त्यसले हिमालमा पार्ने प्रभावबारे अध्ययन गर्छौं । साथै मौसमसम्बन्धी तथ्यांक, जस्तै तापक्रम, हावाको चाप, आद्र्रता, वर्षा आदिको रियल टाइम डाटा संकलन हुन्छ । हिमालय क्षेत्रमा रहेका टेक्टोनिक प्लेटहरूको गतिविधिबारे पनि अध्ययन गर्छौं । भारतीय प्लेट चलायमान भएकाले तिब्बती प्लेटलाई धकेल्छ, जसका कारण प्रत्येक वर्ष करिब केही सेन्टिमिटरका दरले भू–भाग सर्ने प्रक्रिया भइरहेको छ ।’
सगरमाथा विश्वकै आकर्षणको केन्द्र भएकाले यहाँ दैनिक रूपमा विभिन्न देशका पर्यटकहरू आउने गर्छन् । उनीहरू बेस क्याम्प र कालापत्थर घुम्न आउने क्रममा पिरामिड प्रयोगशालाबारे जान्न र अवलोकन गर्न पनि यहाँ पुग्ने गर्छन् । कहिलेकाहीँ १०–१२ जना, कहिलेकाहीँ २० जना र कहिलेकाहीँ ५० जनासम्म आगन्तुकहरू आउने गरेको उनले बताए ।
पिरामिड प्रयोगशालाको पुनः सञ्चालनसँगै सगरमाथा क्षेत्रको वातावरण, प्रदूषण र जलवायु परिवर्तनसम्बन्धी अध्ययन थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
उनका अनुसार प्रयोगशालामा भूकम्प मापन केन्द्रसमेत रहेको छ । ‘यहाँबाट भूकम्प कहाँ गयो, कति गहिराइमा गयो भन्ने अध्ययन गर्छौं, तर हामी भविष्यवाणी भने गर्दैनौं,’ उनले भने । हिमालय क्षेत्रमा टेक्टोनिक गतिविधिबारे पनि अध्ययन भइरहेको उल्लेख गर्दै उनले भने, ‘भारतीय प्लेट र तिब्बती प्लेटको गतिविधिका कारण हिमालहरू बन्ने र परिवर्तन हुने प्रक्रिया निरन्तर चलिरहेको छ ।’ उनका अनुसार सगरमाथा क्षेत्रमा आउने पर्यटक तथा अनुसन्धानकर्ताहरू पनि प्रयोगशाला अवलोकनका लागि पुग्ने गरेका छन् ।
यसैगरी, प्रयोगशालामा उच्च भू–भागमा स्थापना गरिएको भूकम्प मापन केन्द्रमार्फत भूकम्पको दूरी, गहिराइ र अवस्थाबारे अध्ययन हुने गरेको छ । हिमालय क्षेत्रमा टेक्टोनिक प्लेटहरूको गतिविधि, विशेषगरी भारतीय प्लेट र तिब्बती प्लेटबीचको अन्तरक्रियाले हिमालहरूको बनावट र परिवर्तनमा पार्ने प्रभावबारे समेत अनुसन्धान गरिँदै आएको छ । पुनः सञ्चालनसँगै पिरामिड प्रयोगशालाबाट सगरमाथा क्षेत्रको वातावरणीय अवस्था, प्रदूषणको स्तर र जलवायु परिवर्तनका प्रभावबारे महत्वपूर्ण वैज्ञानिक तथ्यांक संकलन हुने अपेक्षा गरिएको छ ।
प्रयोगशाला सन् १९९० सर्वोच्च शिखर सगरमाथा र दोस्रो सर्वोच्च शिखर पाकिस्तानको केटु हिमालका नाममा एभरेस्ट–केटु–इटालियन राष्ट्रिय अनुसन्धान परिषद् (सिएनआर) परियोजना अन्तर्गत स्थापना भएको थियो । सोलुखुम्बुस्थित सगरमाथा राष्ट्रिय निकुञ्जको लोम्बुचेमा स्थापना भएको प्रयोगशाला मातहतका अध्ययन अनुसन्धान बन्द हुँदा सगरमाथाबारे विश्वकै वैज्ञानिक गतिविधि ठप्प बनेको थियो ।
सगरमाथा राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने लोबुचेमा अवस्थित यस केन्द्रमा उच्च भू–भागसम्बन्धी विभिन्न वैज्ञानिक अध्ययन तथा अनुसन्धान गरिन्छ ।









