काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारतको केरला राज्यमा भएको वामपन्थी हारलाई आधार बनाएर नेपालको वाम आन्दोलन संकटमा परेको निष्कर्ष निकाल्नु उचित नहुने बताएका छन् ।
महासचिव पोखरेलले केरला राज्यमा प्रायः प्रत्येक निर्वाचनमा सत्ता परिवर्तन हुँदै आएको इतिहास रहेको उल्लेख गर्दै अघिल्लो निर्वाचनमा मात्रै अपवादका रूपमा वाम गठबन्धन पुनः सत्तामा दोहोरिएको बताएका छन् ।
उनले नेपालको वामपन्थी आन्दोलनको भविष्य कुनै एक चुनावी परिणामले निर्धारण नहुने जिकिर गरेका छन् । वामपन्थको भविष्य त्यसका भविष्यमुखी एजेन्डा, जनता र राष्ट्रहितका गतिविधि तथा जनतासँगको सम्बन्धका आधारमा तय हुने उनको भनाइ छ ।
पोखरेलले अहिलेको हार केवल वामपन्थको मात्र नभई नेपालको समग्र लोकतान्त्रिक शक्तिहरूको हार भएको टिप्पणी गरेका छन् । उनले लोकतान्त्रिक आन्दोलनका आधार शक्तिहरूले यस्तो अवस्थाको कारण खोज्नुपर्ने, त्यसको गम्भीर समीक्षा र मूल्यांकन गर्नुपर्ने तथा सुरक्षित लोकतान्त्रिक भविष्य निर्माणका लागि पुनर्जागरण र पुनर्गठनको स्पष्ट योजना बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।
संकट र चुनौतीको समयमा निराशा र पलायनता अवसरवादी र कायरहरूको बाटो हुने उल्लेख गर्दै पोखरेलले एक क्रान्तिकारीले संकट र चुनौतीको सामना गर्दै प्रतिकूल अवस्थालाई अनुकूलतामा बदल्न सक्नुपर्ने धारणा पनि व्यक्त गरेका छन् ।









