काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी केन्द्रीय समितिमा गरिएको १९ जनाको मनोनयनले कांग्रेसको बृहत्तर एकतामा असर पुगेको बताएका छन् ।
उनले सोमबार धारणा सार्वजनिक गर्दै पार्टीको समग्र एकता बिना राष्ट्रिय राजनीतिमा कांग्रेसले प्रभावकारी भूमिका खेल्न नसक्ने उल्लेख गरे । विगतको निर्वाचन परिणामले कांग्रेसलाई ठूलो शिक्षा दिएको भन्दै उनले पार्टीभित्रको एकतालाई राष्ट्रको आवश्यकता भएको बताएका छन् ।
कोइरालाले विभाजित कांग्रेसका कारण विगतमा पार्टीले नागरिकको भरोसा गुमाएको स्मरण गर्दै आगामी स्थानीय तह र प्रदेश निर्वाचनमा पनि जनविश्वास जित्न नसके कांग्रेसको औचित्यमाथि प्रश्न उठ्न सक्ने चेतावनी दिए ।
उनले हजारौं युवा, संघर्षशील र त्यागी कार्यकर्ताको राजनीतिक भविष्य सुनिश्चित गर्न पार्टी भावनात्मक र राजनीतिक रूपमा एकताबद्ध हुनुपर्ने धारणा राखे । अहिले लोकतन्त्र र संविधानवादमाथि चुनौती बढिरहेका बेला कांग्रेस गुट–उपगुटमा विभाजित हुनु दुःखद भएको उनको भनाइ छ । कोइरालाले १४ औँ महाधिवेशनपछि नवीकरण तथा वितरण गरिएका क्रियाशील सदस्यताकै आधारमा १५ औँ महाधिवेशनलाई ‘एकता महाधिवेशन’ का रूपमा सम्पन्न गर्नुपर्ने बताएका छन् ।
कोइरालाले सार्बजनिक गरेको पाँच बुँदे धारणा:
१. मेरो सामान्य सोच के छ भने– पार्टीको समग्र एकता नभै हामी राष्ट्रिय राजनीतिमा सकृय र सार्थक भूमिका खेल्न सक्दैनौं । विगतको निर्वाचन परिणामले हामीलाई धेरै ठूलो शिक्षा दिएको हुनुपर्छ । कांग्रेसको समग्र एकता नै राष्ट्रको आवश्यकता हो । यसमा पद र व्यक्तिको कुरा गौंण हुन जान्छ । कांग्रेसको इतिहास र परम्परा यही हो ।
२. विभाजित कांग्रेसले विगतमा धेरै ठूलो हण्डर मात्र खानु परेन, आम नागरिकको भरोसा र विश्वास पनि गुमाउन पुग्यो । हामीले भर्खरै सम्पन्न आम निर्वाचनमा प्राप्त गरेको मत परिणामले हामीलाई झस्काएको मात्रै छैन, बरु नयाँ सोच, दृष्टिकोण र साझा भावबाट अगाडि नबढी नहुने प्रेरणा पनि दिएको हुनुपर्छ ।
३. हाम्रा अगाडि स्थानीय तह र प्रदेशको निर्वाचन छ । यसमा पनि हामी आम नागरिकको भरोसा जित्न असमर्थ भएमा राष्ट्रिय राजनीतिमा कांग्रेसको औचित्य माथि प्रश्न उठने खतरा म देख्दैछु ।
४. कांग्रेससँग आबद्ध हजारौं युवा, संघर्षशिल, त्यागी समूहको राजनीतिक भविष्य र राष्ट्र निर्माणमा तिनको भूमिकालाई सुनिश्चित तब मात्र गर्न सकिन्छ जब हामी भावनात्मक रुपले एकतावद्ध हुँदै राजनीतिक रुपले नागरिक मैत्री पार्टी बनाउने दिशातर्फ अगाडि बढछौं । मलाई विश्वास छ– पार्टीको निर्णायक भूमिकामा बस्ने साथीहरु सामूहिक भावना र साझा विचारवाट अगाडि बढनु हुनेछ ।
५. आज संविधानवाद र लोकतन्त्रलाई धरापमा पारेर लोक रिझ्याई (पपुलिज्म) को नाममा चौतर्फी हाम्रा आदर्श, मूल्य र सिद्धान्त माथि आक्रमण भैरहँदा पनि हामी गुट उपगुटमा विभाजन हुनु उदेक लाग्दो अवस्था हो, यसको अन्त्य जति छिटो हुन्छ नेपालको लोकतान्त्रिक पद्धतिले आफ्नो मौलिक मूल्य त्यति छिटो भेट्छ ।









