• २०८३ बैशाख ३१ बिहीबार

मोहम्मदीलाई विना शर्त रिहाई गर्न ११३ नोबेल पुरस्कार विजेताको माग

मोहम्मदीलाई विना शर्त रिहाई गर्न ११३ नोबेल पुरस्कार विजेताको माग

काठमाडौँ । इरानी मानवअधिकार अभियन्ता तथा नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको भन्दै १०० भन्दा बढी नोबेल पुरस्कार विजेताले तत्काल बिना शर्त रिहाइको माग गरेका छन् ।

हालै जमानतमा रिहा भएर तेहरानस्थित अस्पतालमा उपचाररत मोहम्मदीलाई आवश्यक विशेषज्ञ उपचारमा ढिलाइ गरिए स्थायी क्षति हुन सक्ने चेतावनी उनीहरूले दिएका हुन्।

११३ जना नोबेल पुरस्कार विजेताले संयुक्त पत्र जारी गर्दै ५४ वर्षीया मोहम्मदीमाथिका सबै 'अन्यायपूर्ण आरोप' फिर्ता लिन र तत्काल बिना शर्त रिहा गर्न माग गरेका छन् । मोहम्मदीले सन् २०२३ मा 'इरानमा महिलामाथिको दमनविरुद्ध संघर्ष' का लागि नोबेल शान्ति पुरस्कार प्राप्त गरेकी थिइन् ।

सार्वजनिक गरिएको वक्तव्यअनुसार पछिल्ला दिनमा मोहम्मदीमा अत्यधिक तौल घट्ने, रक्तचाप अस्थिर हुने तथा गम्भीर मुटुसम्बन्धी समस्या देखिएको उल्लेख गरिएको छ । आवश्यक उपचार नपाए उनको स्वास्थ्यमा अपूरणीय क्षति पुग्न सक्ने चेतावनी वक्तव्यमा दिइएको छ ।

मोहम्मदीको परिवारद्वारा सञ्चालित नरगिस फाउन्डेसनले उनको मुटुको अवस्था जाँच्न एन्जियोग्राफी गरिएको जनाएको छ। परीक्षणले रक्तनलीसम्बन्धी रोग थप गम्भीर बन्दै गएको देखाएको फाउन्डेसनले उल्लेख गरेको छ । फाउन्डेसनका अनुसार मोहम्मदीलाई स्थिर अवस्थामा राखेर पूर्ण आराममा बस्न चिकित्सकले सल्लाह दिएका छन् ।

लामो समयदेखि इरानमा सभा स्वतन्त्रता र मानवअधिकारको पक्षमा आवाज उठाउँदै आएकी मोहम्मदीलाई इरानी सरकारले पटक–पटक पक्राउ तथा हिरासतमा राख्दै आएको छ। नरगिस फाउन्डेसनका अनुसार उनले आफ्नो जीवनमा ४४ वर्षभन्दा बढी जेल सजाय र १५४ कोर्राको सजाय भोगिसकेकी छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै