• २०८३ जेठ ६ बुधबार

चोटका कारण अल्काराज विम्बल्डनबाट बाहिरिए

चोटका कारण अल्काराज विम्बल्डनबाट बाहिरिए

काठमाडौँ । दुई पटकका विम्बल्डन विजेता कार्लोस अल्काराज चोटका कारण यस वर्षको विम्बल्डन प्रतियोगिताबाट बाहिरिएका छन् । दाहिने हातको नाडीमा समस्या देखिएपछि उनले प्रतियोगिता नखेल्ने निर्णय गरेका हुन् ।

विश्व वरीयताको दोस्रो स्थानमा रहेका अल्कारेजले गत महिना बार्सिलोना प्रतियोगिताको पहिलो चरण खेल्ने क्रममा चोटिल भएका थिए । त्यसपछि उनले फ्रान्स खुला प्रतियोगिताबाट पनि नाम फिर्ता लिएका थिए । उनी उक्त प्रतियोगिताका लगातार दुई संस्करणका साविक विजेता थिए ।

२३ वर्षीय अल्कारेजले सामाजिक सञ्जालमार्फत स्वास्थ्यमा सुधार भइरहेको भए पनि अझै प्रतिस्पर्धाका लागि तयार नभएको बताएका छन् । उनले क्वीन्स प्रतियोगिता र विम्बल्डन आफूका लागि विशेष रहेको उल्लेख गर्दै ती प्रतियोगिता गुमाउँदा दुःख लागेको प्रतिक्रिया दिएका छन् ।

गत वर्षको विम्बल्डनको उपाधि भिडन्तमा अल्कारेज इटालीका जन्निकसिन्नेरसँग पराजित भएका थिए । यस वर्ष उनले अस्ट्रेलियन खुला जित्दै चारवटै प्रमुख उपाधि जित्ने सबैभन्दा कान्छा खेलाडी बन्ने कीर्तिमान बनाएका थिए ।

चोटका कारण अल्कारेजले घाँसे मैदानको सम्पूर्ण सत्र र अधिकांश माटे मैदानका प्रतियोगिता गुमाउने भएका छन् । विम्बल्डनअघि हुने क्वीन्स प्रतियोगितामा पनि उनी सहभागी हुने तालिकामा थिए ।

अल्कारेज प्रतियोगिताबाट बाहिरिएपछि सिनरको उपाधि सम्भावना थप बलियो बनेको छ । पछिल्ला नौ प्रमुख एकल उपाधिमध्ये अल्कारेज र सिनरले बाँडेर जितेका छन् । त्यसमा अल्कारेजले पाँच उपाधि जितेका छन् ।

नाडीको चोट खेलाडीका लागि निकै संवेदनशील मानिन्छ । समयमै सावधानी नअपनाए खेल जीवनमै असर पर्न सक्ने चिकित्सकहरूको भनाइ छ । अल्कारेजले पनि भविष्यका प्रतियोगितालाई ध्यानमा राख्दै जोखिम नलिने बताएका थिए ।

यसअघि डोमिनिक थिएम र जुआन डेल पोट्रो जस्ता खेलाडीको खेल जीवन पनि नाडीको चोटका कारण प्रभावित भएको थियो । सात पटकका विम्बल्डन विजेता नोभाक जोकोभिचलाई यस पटक उपाधिका बलिया दाबेदारका रूपमा हेरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै