काठमाडौँ । विश्वकै सबैभन्दा शक्तिशाली मानिने ‘स्टारशिप’ रकेटको नयाँ तथा ठूलो संस्करण (भी–३) को पहिलो परीक्षण सफलतासँगै केही प्राविधिक चुनौतीहरू देखिएको छ ।
टेक्सासको दक्षिणी भागमा रहेको स्टारबेस प्रक्षेपण केन्द्रबाट उडान भरेपछि रकेटको इन्जिनमा समस्या देखिएको थियो । जसका कारण रकेट नियन्त्रण गुमाउने जोखिमसमेत उत्पन्न भएको थियो । तर करिब एक घण्टापछि स्टारशिप अन्तरिक्ष यान हिन्द महासागरमा सुरक्षित अवतरण गर्न सफल भयो ।
यो परीक्षण स्टारशिप शृंखलाको १२औँ परीक्षण हो भने भी–३ संस्करणको पहिलो परीक्षण थियो । नेपाली समयअनुसार यो प्रक्षेपण शनिबार बिहान गरिएको हो । एलन मस्कको कम्पनी स्पेसएक्सले निर्माण गरेको यो रकेट ‘स्टारशिप’ र ‘सुपर हेभी बूस्टर’ मिलेर बनेको हो, जसको कुल उचाइ ४०३ फिट छ । यो पूर्ण रूपमा पुनः प्रयोग गर्न मिल्ने रकेट हो ।
परीक्षणका क्रममा ‘सुपर हेभी बूस्टर’ आफ्नो नियन्त्रित अवतरण प्रक्रिया पूरा गर्न असफल भयो । बूस्ट–ब्याक बर्न प्रक्रिया अधुरो रहेपछि बूस्टर पानीमा नियन्त्रित रूपमा अवतरण हुन सकेन । मुख्य स्टारशिप अलग भएपछि पनि अर्को समस्या देखियो । यसको ६ मध्ये ५ मात्र इन्जिन सुरु हुन सके, जसका कारण यो पूर्ण रूपमा निर्धारित कक्षीय मार्गमा पुग्न सकेन ।
यद्यपि यसको उडान सुरक्षित सीमाभित्र रहेकाले यो सब–अर्बिटल उडान पूरा गर्न सफल भयो । तर इन्जिन पुनः परीक्षण गर्ने अर्को चरण भने पूरा हुन सकेन । यो परीक्षणको मुख्य उद्देश्य रकेटलाई प्रक्षेपण, अलग हुने प्रक्रिया, इन्जिन पुनः सञ्चालन र समुद्रमा तोकिएको स्थानमा सुरक्षित अवतरणसम्मको सम्पूर्ण प्रणाली परीक्षण गर्नु थियो ।
यसअघि स्टारशिपको ११औँ परीक्षण २०२५ अक्टोबर १४ मा गरिएको थियो, जसमा सुपर हेभी बूस्टर अमेरिकाको खाडी क्षेत्रमा पानीमा अवतरण भएको थियो भने स्टारशिप हिन्द महासागरमा अवतरण भएको थियो । १०औँ परीक्षण २०२५ अगस्ट २७ मा सफल भएको थियो, जसमा स्टारलिङ्क सिमुलेटर उपग्रहहरू अन्तरिक्षमा छोड्ने र इन्जिन सञ्चालनजस्ता सबै लक्ष्य पूरा भएका थिए ।
त्यसअघि २०२५ जुन २९ मा हुने भनिएको परीक्षण स्थिर परीक्षणका क्रममा भएको विस्फोटका कारण असफल भएको थियो । उक्त घटनामा रकेटको माथिल्लो भागमा अचानक विस्फोट भई सम्पूर्ण संरचना आगोमा जलेको थियो ।









