काठमाडौँ । इबोला प्रकोपले कंगोको पूर्वी क्षेत्रमा अवस्था झन् भयावह बन्दै गएको छ । आक्रोशित स्थानीय समूहले संक्रमितको उपचारका लागि बनाइएको स्वास्थ्य केन्द्रमा आगजनी गरेपछि स्थिति थप तनावपूर्ण बनेको हो ।
घटनापछि उपचार केन्द्रबाट १८ जना शंकास्पद बिरामी भागेका छन् । उनीहरूको हालसम्म कुनै पत्ता लाग्न नसकेको स्थानीय प्रशासनले जानएपछि चिन्ता व्यक्त गरिएको छ । एक साताभित्र उपचार केन्द्रमाथि भएको यो दोस्रो आक्रमण हो । स्वास्थ्य अधिकारीहरूले यस्ता घटनाले रोग झन् तीव्र रूपमा फैलिन सक्ने चेतावनी दिएका छन् ।
स्थानीय अस्पतालका निर्देशक डाक्टर रिचर्ड लोकुडीका अनुसार मोंगबवालु नगरमा शुक्रबार राति केही व्यक्तिहरू उपचार केन्द्र पुगेका थिए । उनीहरूले संक्रमित र शंकास्पद बिरामीको उपचारका लागि बनाइएको अस्थायी पालमा आगो लगाइदिएका थिए । उक्त केन्द्र अन्तर्राष्ट्रिय मानवीय स्वास्थ्य संस्थाको सहयोगमा सञ्चालन हुँदै आएको थियो ।
आगो लागेपछि अस्पताल क्षेत्रमा भागदौड मच्चिएको थियो । बिरामीहरू ज्यान जोगाउन बाहिर निस्किएका थिए । यही क्रममा १८ जना शंकास्पद बिरामी सम्पर्कविहीन भएका हुन् । स्वास्थ्य अधिकारीहरूले संक्रमित व्यक्तिहरू समुदायमा मिसिए रोग थप फैलिन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
यसअघि र्वामपारा नगरमा पनि उपचार केन्द्रमा आगजनी गरिएको थियो । त्यहाँ एक व्यक्तिको इबोलाबाट मृत्यु भएको आशंका गरिएको थियो । प्रशासनले परिवारलाई शव लैजान अनुमति नदिएपछि स्थानीय बासिन्दाले विरोध गरेका थिए ।
इबोलाबाट मृत्यु भएका व्यक्तिको शव अत्यन्त सङ्क्रामक मानिने भएकाले अन्त्येष्टिका क्रममा रोग फैलिने जोखिम धेरै हुन्छ । यही कारण प्रशासनले आफैंले अन्त्येष्टि प्रक्रिया सञ्चालन गर्दै आएको छ । तर स्थानीय समुदाय र परिवारजनले यसको विरोध गरिरहेका छन् ।
शनिबार र्वामपारामा कडा सुरक्षाबीच संक्रमितहरूको सामूहिक अन्त्येष्टि गरिएको थियो । सैनिक र प्रहरीको निगरानीमा उद्धारकर्मीहरूले सुरक्षात्मक पोसाक लगाएर शव गाडेका थिए भने परिवारका सदस्यहरू टाढाबाट रोइरहेका देखिएका थिए ।
विश्व स्वास्थ्य निकायले कंगोमा इबोलाको जोखिम अत्यन्त उच्च स्तरमा पुगेको जनाएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार सुरुआती संक्रमण पहिचानमा ढिलाइ हुँदा रोग धेरै सातासम्म पत्ता नलागी फैलिएको थियो ।
पूर्वोत्तर कंगोमा प्रशासनले ५० जनाभन्दा बढी भेला हुन र अन्त्येष्टि सभामा सहभागी हुन प्रतिबन्ध लगाएको छ । उद्धार तथा राहत संस्थाले आफ्ना तीन स्वयंसेवकको पनि इबोला संक्रमणबाट मृत्यु भएको जनाएको छ ।
अफ्रिकी रोग नियन्त्रण निकायका प्रमुख डाक्टर जीन कासेयाले यो संकट नियन्त्रण गर्न स्थानीय समुदायको विश्वास जित्नु सबैभन्दा महत्वपूर्ण रहेको बताएका छन् । स्वास्थ्य निकायहरूले जनचेतना फैलाउने र संक्रमण रोक्ने प्रयास जारी राखे पनि स्थानीय विरोध ठूलो चुनौती बन्दै गएको छ ।
कंगोमा अहिलेसम्म इबोलाबाट १७७ भन्दा बढीको मृत्यु भएको ७५० भन्दा बढी संक्रमित रहेको बताइएको छ र यो क्रम बढिरहेको छ ।









