• २०८३ जेठ १२ मंगलबार

कन्सुलर सेवा विभागको ‘मोफा मित्र’ एपको औपचारिक शुभारम्भ

कन्सुलर सेवा विभागको ‘मोफा मित्र’ एपको औपचारिक शुभारम्भ

काठमाडौं । परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागले विकास गरेको मोबाइल एप ‘मोफा मित्र’ को औपचारिक शुभारम्भ गरिएको छ । त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागमा आज आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले उक्त एपको शुभारम्भ गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले कन्सुलर सेवालाई थप सहज, नागरिकमैत्री, प्रभावकारी र प्रविधिमैत्री बनाउन डिजिटल प्रविधिको प्रयोग अत्यन्त महत्वपूर्ण रहेको बताएका छन् ।

उनले ‘मोफा मित्र’ एपमार्फत विदेशमा रहेका नेपाली नागरिक र नेपाली नियोगबीच सहज सम्पर्क, समन्वय तथा छिटो सूचना आदानप्रदानमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । कन्सुलर सेवासम्बन्धी गुनासा तथा समस्याको प्रभावकारी समाधानमा पनि एपले महत्वपूर्ण भूमिका खेल्ने उनले बताएको छ ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै कन्सुलर सेवा विभागका महानिर्देशक दुरपदा सापकोटाले कन्सुलर सेवालाई थप सहज, सरल र प्रभावकारी बनाउने नेपाल सरकारको नीतिअनुसार विभागले आधुनिकीकरण तथा डिजिटल रूपान्तरणको काम निरन्तर अघि बढाइरहेको बताए ।

कार्यक्रममा ‘मोफा मित्र’ एपका विशेषता तथा सञ्चालन प्रक्रियाबारे संक्षिप्त प्रस्तुति पनि गरिएको थियो ।

एपमार्फत विदेशमा समस्यामा परेका, अलपत्र परेका वा हराएका नेपाली नागरिकको खोजतलास तथा उद्धारका लागि अनलाइन निवेदन दर्ता गर्न सकिने व्यवस्था गरिएको छ । साथै मृत्यु भएका नेपालीको शव व्यवस्थापन, बीमा तथा क्षतिपूर्ति दाबी लगायत अन्य गुनासा तथा समस्या पनि एपमार्फत दर्ता गर्न सकिने जनाइएको छ ।

निवेदनमाथि भएको कारबाहीको अवस्थाबारे जानकारी लिन सकिने सुविधा समेत एपमा समावेश गरिएको छ । त्यसबाहेक नेपाली नियोगहरूको सम्पर्क विवरण, नियोगले प्रदान गर्ने सेवा, यात्रा सम्बन्धी सूचना, सुरक्षा जानकारी, कन्सुलर सेवासम्बन्धी बारम्बार सोधिने प्रश्न तथा अन्य उपयोगी जानकारी पनि एपमा उपलब्ध गराइएको छ ।

यो एप एन्ड्रोइड र आइओएस दुवै माध्यममा उपलब्ध रहेको छ । सेवाग्राहीले गुगल प्ले स्टोर र एप्पल एप स्टोरमार्फत एप डाउनलोड गरेर प्रयोग गर्न सकिने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै