• २०८३ जेठ १४ बिहीबार

आइपिएलको इलिमिनेटरमा सनराइजर्स र राजस्थान भिड्दै

आइपिएलको इलिमिनेटरमा सनराइजर्स र राजस्थान भिड्दै

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज इलिमिनेटर खेल हुदैछ ।

इलिमिनेटरमा आज सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल चण्डीगढस्थित महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट मैदान मुल्लानपुरमा हुनेछ ।

प्याट कमिन्सको कप्तानीमा सनराइजर्स हैदराबादले उत्कृष्ट प्रदर्शन गर्दै लिग चरण तेस्रो स्थानमा समाप्त गरेको थियो । प्रतियोगिताभर टोलीले आक्रामक ब्याटिङमार्फत विपक्षी बलिङ आक्रमणमाथि लगातार दबाब बनाएको थियो ।

यता राजस्थान रोयल्सले अन्तिम लिग खेलमा मुम्बई इन्डियन्सलाई पराजित गर्दै चौथो स्थान सुरक्षित गरेको थियो । मध्य सिजनमा कमजोर अवस्थामा पुगे पनि टोलीले पुनरागमन गर्दै समयमै लय समातेको मानिएको छ ।

यस सिजन लिग चरणमा यी दुई टोलीबीच दुई खेल भएका थिए र दुवैमा सनराइजर्स हैदराबाद विजयी भएको थियो ।

अप्रिल १३ मा हैदराबादमा भएको पहिलो खेलमा सनराइजर्सले राजस्थानलाई ५७ रनले पराजित गरेको थियो । त्यस खेलमा प्रफुल हिङ्गेको अनुशासित बलिङले राजस्थानलाई लक्ष्य पछ्याउने क्रममा दबाबमा राखेको थियो । त्यस्तै अप्रिल २५ मा जयपुरस्थित सवाई मानसिंह रंगशालामा भएको दोस्रो खेल भने प्रतिस्पर्धात्मक बनेको थियो । पहिले ब्याटिङ गरेको राजस्थानले किशोर खेलाडी वैभव सूर्यवंशीको शानदार शतकको मद्दतमा प्रतिस्पर्धात्मक योगफल बनाएको थियो । उनले १०३ रन बनाएका थिए । तर सनराइजर्सले उक्त लक्ष्य पाँच विकेट बाँकी रहँदै सहज रूपमा पूरा गर्दै राजस्थानमाथि लगातार दोस्रो जित निकालेको थियो ।

आजको विजेताले दोस्रो क्वालिफायरमा शुक्रबार गुजरात टाइटन्ससँग खेल्ने छ भने पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिने छ । त्यस्तै यस सिजनको फाइनल खेल आगामी आइतबार हुदैछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै