• २०८३ जेठ १३ बुधबार

ट्रम्पको स्वास्थ्य परिक्षण बारे ह्वाइटहाउसले के भन्यो ?

ट्रम्पको स्वास्थ्य परिक्षण बारे ह्वाइटहाउसले के भन्यो ?

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि स्वास्थ्य अवस्थालाई लिएर चर्चामा आएका छन् । ७९ वर्षीय ट्रम्प वाल्टर रिड राष्ट्रिय सैनिक स्वास्थ्य केन्द्र पुगेका थिए, जहाँ करिब तीन घण्टासम्म उनको स्वास्थ्य परीक्षण गरिएको थियो ।

परीक्षणपछि ट्रम्पले सामाजिक सञ्जालमार्फत आफ्नो नियमित छ महिनाको स्वास्थ्य जाँच पूरा भएको र सबै नतिजा सामान्य आएको दाबी गरेका छन् । आगामी अमेरिकी निर्वाचनलाई लक्षित गर्दै ट्रम्पले आफूलाई अझै सक्रिय र सक्षम नेताका रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेका बेला उनको उमेर र स्वास्थ्यबारे बहस पनि बढ्दै गएको छ ।

ह्वाइट हाउसले उक्त भ्रमणलाई नियमित स्वास्थ्य तथा दाँत परीक्षणका रूपमा वर्णन गरेको छ । दोस्रोपटक राष्ट्रपति बनेपछि ट्रम्पको यो चौथो सार्वजनिक स्वास्थ्य परीक्षण हो । ट्रम्प अर्को महिना ८० वर्ष पुग्दैछन् । उनी अमेरिकाको इतिहासमा सबैभन्दा बढी उमेरमा निर्वाचित राष्ट्रपति मानिन्छन् ।

यसअघि जो बाइडेन ८२ वर्षको उमेरमा राष्ट्रपति पदबाट बाहिरिएका थिए । अमेरिकामा वृद्ध नेताहरूको राजनीतिक भूमिकाबारे अहिले जनस्तरमै बहस चर्किएको छ । ट्रम्पको स्वास्थ्य अवस्थामाथि विशेष ध्यान दिनुको कारण अमेरिकामा राष्ट्रपति पदका लागि शारीरिक र मानसिक क्षमता अत्यन्त महत्वपूर्ण मानिनु हो । हालै सार्वजनिक एक सर्वेक्षणअनुसार आधाभन्दा कम अमेरिकी नागरिकले मात्रै ट्रम्प राष्ट्रपति पदको जिम्मेवारी सम्हाल्न मानसिक र शारीरिक रूपमा पूर्ण सक्षम रहेको विश्वास व्यक्त गरेका छन् ।

ह्वाइट हाउसका पूर्व चिकित्सक डाक्टर जेफ्री कुलम्यानले ट्रम्पको उमेरलाई ध्यानमा राख्दै मुटुसम्बन्धी विस्तृत परीक्षण, क्यान्सर जाँच तथा मानसिक क्षमताको मूल्याङ्कन आवश्यक हुने बताएका छन् । यद्यपि यसपटक ट्रम्पको कुन–कुन परीक्षण गरिएको थियो भन्नेबारे ह्वाइट हाउसले खुलाएको छैन ।

ट्रम्पले भने आफू अहिले पनि ५० वर्षअघिजत्तिकै तन्दुरुस्त महसुस गर्ने दाबी गर्दै आएका छन् । तर सार्वजनिक कार्यक्रममा कहिलेकाहीँ उनी थकित देखिने गरेका छन् । केही बैठकका क्रममा उनको आँखा लामो समय बन्द देखिएपछि उनी निदाएको चर्चा चलेको थियो । तर ट्रम्पले त्यसलाई अस्वीकार गरेका थिए ।

उनले आफ्नो सार्वजनिक छविप्रति पनि विशेष सावधानी अपनाउने गरेका छन् । एयर फोर्स वनको भर्‍याङ ओर्लिँदा लड्ने तस्बिर सार्वजनिक नहोस् भनेर निकै सतर्क रहने ट्रम्पले स्वयं बताएका छन् ।

यसैबीच ट्रम्पको मानसिक क्षमतामाथि पनि पटक–पटक प्रश्न उठ्ने गरेको छ । उनले मानसिक परीक्षणमा उत्कृष्ट नतिजा ल्याएको दाबी गर्दै आएका छन् । पछिल्लो परीक्षणमा मोन्ट्रियल मानसिक मूल्याङ्कन परीक्षणमा उनले ३० मध्ये ३० अंक प्राप्त गरेको बताइएको थियो । उक्त परीक्षण स्मरणशक्ति र मानसिक कमजोरी पहिचान गर्न प्रयोग गरिन्छ ।

यद्यपि उनका आलोचकहरूले ट्रम्पका भाषण र अभिव्यक्तिलाई मानसिक क्षमतामा आएको गिरावटको संकेतका रूपमा व्याख्या गर्दै आएका छन् । गत महिना ३० भन्दा बढी स्नायु रोग विशेषज्ञ र मनोचिकित्सकले ट्रम्पको व्यवहारप्रति चिन्ता व्यक्त गर्दै संयुक्त वक्तव्य जारी गरेका थिए । ह्वाइट हाउसले भने त्यसलाई राजनीतिक उद्देश्यले गरिएको आक्रमण भन्दै अस्वीकार गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै