काठमाडौँ । हिमालयन बैंक लिमिटेडले चीन भ्रमणलाई थप सहज र सुलभ बनाउने उद्देश्यसहित युनियनपे आरएमबी कार्ड सेवा सञ्चालनमा ल्याएको छ । बैंकले चीनको चर्चित कार्ड ब्रान्ड युनियनपे इन्टरनेसनलसँगको सहकार्यमा नेपालमै पहिलो पटक उक्त सेवा सुरु गरेको जनाएको छ ।
बैंकका अनुसार आरएमबी कार्ड प्रयोगकर्ताले चीन भ्रमणका क्रममा त्यहाँका एटीएम, बिक्री केन्द्रका भुक्तानी उपकरण, द्रुत प्रतिक्रिया संकेत प्रणाली तथा विद्युतीय व्यापार मञ्चमार्फत हुने कारोबारमा चिनियाँ मुद्रा युआनमै सहज भुक्तानी गर्न सक्नेछन् । यसले अन्य उपलब्ध भुक्तानी माध्यमको तुलनामा खर्च बचत हुनुका साथै व्यापक रूपमा स्वीकार्य हुने बैंकको विश्वास छ ।
विद्यार्थी, व्यवसायी, पर्यटक तथा व्यक्तिगत वा संस्थागत भ्रमणमा जाने सेवाग्राहीले नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्रा सटही सीमा भित्रको रकम कार्डमा जम्मा गरी प्रयोग गर्न सक्नेछन् । युनियनपे सञ्जालमा आबद्ध विभिन्न डिजिटल भुक्तानी माध्यममार्फत समेत चिनियाँ मुद्रामै भुक्तानी गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
काठमाडौँमा आयोजित कार्यक्रममा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणा र युनियनपे इन्टरनेसनलकी उपाध्यक्ष ज्वाङ बेइले संयुक्त रूपमा आरएमबी कार्ड सेवाको शुभारम्भ गरेका छन् । बैंकका अनुसार यो सेवाले विशेषगरी चीन जाने नेपाली विद्यार्थी, व्यवसायी तथा पर्यटकलाई सहज, सुरक्षित र किफायती भुक्तानी सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ।









