काठमाडौं । सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित नवलपुर सबस्टेसनदेखि चक्रघट्टा गाउँपालिका–७, चैनपुरासम्मको लालबन्दी–सलेमपुर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ ।
नेपाल विद्युत प्राधिकरणका अनुसार लालबन्दी–सलेमपुर १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत चैनपुरामा निर्माण गरिएको १३२/३३/११ केभी सबस्टेसन समेत सञ्चालनमा आएको हो । सबस्टेसनमा १३२/३३ केभी, ३० एमभीए क्षमताका दुईवटा तथा ३३/११ केभी, २४ एमभीए क्षमताको एक पावर ट्रान्सफर्मर जडान गरिएको छ। यससँगै सबस्टेसनको कुल क्षमता ८४ एमभीए रहेको छ भने स्थानीय क्षेत्रमा विद्युत वितरणका लागि सबस्टेसनबाट ३३ केभीका ५ वटा र ११ केभीका ६ वटा फिडर निकालिएको प्राधिकरणले जनाएको छ ।
प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा आएपछि सर्लाहीको मलंगवा, हरिपुर, हरिपूर्वा, डुमरिया, बरहथवालगायतका क्षेत्रमा विद्युत आपूर्ति थप भरपर्दो र गुणस्तरीय हुने र यसबाट विद्युत चुहावट घट्नुका साथै न्यून भोल्टेज, बारम्बार हुने विद्युत् विच्छेद (ट्रिपिङ) लगायतका समस्या न्यूनीकरण हुने प्राधिकरणले जानकारी दिएको छ । साथै, स्थानीय क्षेत्रमा विद्युतको बढ्दो माग व्यवस्थापन गर्न तथा आपूर्ति प्रणालीलाई थप सुदृढ बनाउन सहयोग पुग्ने छ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले ग्राहकलाई पर्याप्त भोल्टेजसहित भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउने विषयलाई प्राधिकरणले उच्च प्राथमिकतामा राखेको बताए । उनले विद्युतको प्रसारण तथा वितरण प्रणालीका पूर्वाधार विस्तार र सुदृढीकरणका कामलाई योजनाबद्ध रूपमा अघि बढाइएको उल्लेख गरे ।
करिब २० किलोमिटर प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि २०७९ चैतमा एक अर्ब १२ करोड ५२ लाखमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता २०८० वैशाखदेखि कार्यान्वयनमा आएको थियो। नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको लगानीमा आयोजना निर्माण गरिएको हो ।









