• २०८३ जेठ २२ शुक्रबार

काँग्रेस बाराका सभापति यादव निलम्बित

काँग्रेस बाराका सभापति यादव निलम्बित

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले विभिन्न उजुरी तथा अनुशासनसम्बन्धी विषयमा पाँचवटा निर्णय गरेको जनाएको छ ।

बैठकले सर्लाही प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा क्षेत्र नम्बर १ की सदस्य सकुन्तीदेवी महरा, प्रदेशसभा क्षेत्र नम्बर २ का सदस्य कौशल किशोर राय तथा प्रदेशसभा क्षेत्र नम्बर १ का सदस्य जंगीलाल रायविरुद्ध २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको भन्ने उजुरीमाथि छानबिन गरेको थियो ।

उनीहरूलाई केन्द्रीय अनुशासन समितिले स्पष्टीकरण सोधेकोमा तीनै जनाले आफूविरुद्ध लगाइएका आरोप निराधार, असत्य र कपोलकल्पित रहेको तथा पार्टीविरुद्ध कुनै गतिविधिमा संलग्न नभएको भन्दै वैशाख २१ गते जवाफ पेश गरेका थिए। समितिले उनीहरूलाई भविष्यमा कुनै गुनासो नआउने गरी पार्टीको विधान र नियमावलीप्रति पूर्ण प्रतिबद्ध रही आफ्नो पदीय जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्न निर्देशन दिएको छ ।

त्यस्तै बारा जिल्ला सभापति राजेश राय यादवविरुद्ध गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन लागेको भन्ने उजुरी प्राप्त भएको थियो । सो विषयमा समितिले वैशाख ३० गते पाँच दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो । निर्धारित समयभित्र जवाफ नआएपछि समितिले २०८३ जेठ १२ गते पुनः तीन दिनको समय दिँदै स्पष्टीकरण माग गरेको थियो । तर दोस्रो पटक पनि कुनै जवाफ नदिएको भन्दै समितिले थप अनुसन्धान आवश्यक रहेको निष्कर्ष निकालेको छ ।

समितिले अनुसन्धान कार्य प्रभावित हुन सक्ने भन्दै नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ (८) (ङ) तथा नियमावली २०७६ को नियम २८ (३) अनुसार अन्तिम निर्णय नआउञ्जेलसम्मका लागि राजेश राय यादवलाई बारा जिल्ला सभापतिको जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय गरेको छ । निलम्बन अवधिमा उनले सभापतिको हैसियतमा कुनै कामकाज गर्न पाउने छैनन् ।

यस्तै बारा जिल्ला कार्यसमितिका उपसभापति अमिरीलाल राउत (पाल) विरुद्ध परेको उजुरीका सम्बन्धमा समितिले यसअघि स्पष्टीकरण मागेको थियो। उनले जेठ १० गते आफ्नो जवाफ पेश गरेका थिए । समितिले थप जाँचबुझ तथा मिसिल संलग्न कागजात अध्ययन गर्दा राउतको स्पष्टीकरण सन्तोषजनक देखिएको निष्कर्ष निकालेको छ। त्यसैले उनीमाथि थप कारबाही आवश्यक नदेखिएको भन्दै लगाइएका आरोपबाट सफाइ दिने निर्णय गरिएको समितिले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै