• २०८३ जेठ २४ आइतबार

बलिवुड अभिनेत्री जान्हवीको कथित च्याट लिकपछि हङ्गामा

बलिवुड अभिनेत्री जान्हवीको कथित च्याट लिकपछि हङ्गामा

काठमाडौँ । बलिवुड अभिनेत्री जान्हवी कपूरसँग सम्बन्धित भनिएका केही च्याटका स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भएका छन् । ती स्क्रिनसटमा जान्हवीले चलचित्र ‘पेद्दी’को छायांकनका क्रममा आफूले गरेका केही दृश्यबारे चिन्ता व्यक्त गरेको दाबी गरिएको छ ।

जान्हवीका केही प्रशंसक समूहहरूले सार्वजनिक गरेका ती स्क्रिनसटमा अभिनेत्रीले एक व्यक्तिसँग कुराकानी गर्दै छायांकनका क्रममा केही दृश्यप्रति पटक–पटक आपत्ति जनाएको उल्लेख गरिएको छ ।

भाइरल भएका स्क्रिनसटहरू गत अक्टोबर ३० का भएको दाबी गरिएको छ । ती च्याटमा जान्हवीले विशेष गरी केही क्यामेरा एंगल प्रयोग नगर्न आग्रह गरेको उल्लेख छ । एक सन्देशमा उनले भनेकी छन्- 'मैले यस्ता अश्लील दृश्य नलिन भनेकी थिए ।'

उनले आफूले आपत्ति जनाउँदा अभिनेता राम चरणले पनि साथ दिएको दाबी गरेकी छन् । च्याटमा, 'राम सर निकै राम्रो हुनुहुन्छ । उहाँले पनि निर्देशकलाई यस्ता कोणबाट दृश्य नलिन भन्नुभएको थियो । त्यसपछि उहाँ पनि निकै रिसाउनुभएको थियो ।'

अर्को च्याटमा जान्हवीले दक्षिण भारतीय चलचित्र उद्योगको कार्यशैलीबारे टिप्पणी गरेको दाबी गरिएको छ । उनले, 'दक्षिण भारतीय चलचित्र उद्योगमा यस्तै हुन्छ,' लेखेको बताइएको छ । प्रशंसक समूहहरूले चलचित्र ‘गेम चेन्जर’मा अभिनेत्री कियारा आडवाणीमाथि भएको आलोचनाको प्रसङ्ग पनि उठाएका थिए । त्यसको जवाफमा जान्हवीले, 'त्यसभन्दा पनि धेरै थियो, तर राम सरले स्पष्ट रूपमा अस्वीकार गर्नुभयो,' भनेको दाबी गरिएको छ । जब एक प्रशंसकले एउटै नायकसँग काम गर्ने अभिनेत्रीहरूसँग यस्ता घटना किन दोहोरिरहन्छन् भनेर प्रश्न गरेका थिए, जान्हवीले पुनः दक्षिण भारतीय चलचित्र उद्योगमा यस्ता कुरा भइरहने दाबी गरेको बताइएको छ ।

भाइरल च्याटमा सहमतिसम्बन्धी विषय पनि उठाइएको छ। एक सन्देशमा जान्हवीले, 'तपाईंलाई थाहा छैन, म के भोगिरहेकी छु । म उनीहरूलाई बुझाउने प्रयास गरिरहेकी छु ।' उनले केही अभिनेत्रीका अभिभावकहरू पनि छायांकनस्थलमा उपस्थित हुने गरेको उल्लेख गर्दै अभिनेत्री श्रीलिलाको उदाहरण दिएको दाबी गरिएको छ । साथै, आफ्ना पिता बोनी कपूर छायांकनस्थलमा आए स्थिति अझ जटिल हुन सक्ने कुरा पनि उल्लेख गरेको बताइएको छ ।

जान्हवीले क्लोजअप दृश्य भनिए पनि क्यामेरा अन्यत्र केन्द्रित गरिने गरेको आरोप लगाएको दाबी गरिएको छ । च्याटमा उनले यस्ता विषयमा विश्वास गर्न नसकिने उल्लेख गरेकी छन् । चलचित्र प्रदर्शनपछि जान्हवीको भूमिकालाई लिएर सामाजिक सञ्जालमा प्रश्न उठ्न थालेका थिए । केही दृश्यको आलोचना बढेपछि निर्देशक बुची बाबु सनाले माफी माग्दै जान्हवीसँग सम्बन्धित केही दृश्यमा परिवर्तन गरिने बताएका छन् ।

यद्यपि, भाइरल भएका च्याटका स्क्रिनसटको आधिकारिक पुष्टि भने अहिलेसम्म भएको छैन । जान्हवी कपूर वा उनको टोलीले यस विषयमा सार्वजनिक प्रतिक्रिया दिएका छैनन् । 

तीन दिनअघि रिलिज भएको फिल्म पेड्डीले भारतमा डेढ सय करोड कमाई गरेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै