• २०८३ जेठ २८ बिहीबार

विश्वकपमा आफ्नो टिमविरुद्ध नाराबाजी भएमा खेल छोड्ने इरानको चेतावनी

विश्वकपमा आफ्नो टिमविरुद्ध नाराबाजी भएमा खेल छोड्ने इरानको चेतावनी

काठमाडौं । इरानले फिफा विश्वकपका खेलका क्रममा आधिकारिक रूपमा स्वीकृत नभएका झण्डा प्रदर्शन भए वा राष्ट्रिय टिमविरुद्ध नारा लगाइए इरानी टिमले खेल नै रोक्न सक्ने चेतावनी दिएको छ । इरानका खेलकुदमन्त्री अहमद दुन्यामालीले यस्तो चेतावनी दिएका हुन् । 

इरान विश्वकपमा समूह ‘जी’ मा रहेको छ । उसले पहिलो खेल जुन १५ मा लस एन्जलसमा न्युजील्याण्डसँग खेल्नेछ । जुन २१ मा सोही स्थानमा बेल्जियमसँग भिड्नेछ भने जुन २६ मा सियाटलमा इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ ।

इरानी सञ्चारमाध्यमका अनुसार मन्त्री दुन्यामालीले फिफालाई यसबारे जानकारी दिइसकेको बताउँदै यदि स्टेडियममा स्वीकृत नभएका झण्डा ल्याइए वा टोलीविरुद्ध नारा लगाइएमा खेल रोक्ने जिम्मा टिम व्यवस्थापनले लिने बताएका छन् । उनले इजिप्टविरुद्धको खेललाई लिएर कुनै पनि अवाञ्छित घटना नहुने आश्वासन प्राप्त भएको पनि बताएका छन् । यसअघि अप्रिलमा भ्यानकुभरमा फिफा कांग्रेस बाहिर प्रदर्शनकारीले इरानलाई विश्वकपबाट हटाउन माग गरिएको थियो । इजिप्टसँगको खेललाई लिएर एलजीबीटीक्यू सम्बन्धी गतिविधिबारे पनि विवाद उठेको थियो ।

यसैबीच, प्रतियोगिताअघि इरानी टिमले व्यवस्थापकीय समस्या पनि भोगिरहेको बताइएको छ । टिकट वितरण रद्द भएको, समर्थकहरूको यात्रा योजना प्रभावित भएको र भिसा तथा यात्रा सम्बन्धी कठिनाइ देखिएको बताइएको छ ।

अमेरिकी होमल्याण्ड सुरक्षा विभागले भने इरानी टिमलाई आफ्ना प्रत्येक खेलभन्दा एक दिनअघि मात्रै अमेरिका प्रवेश गर्न अनुमति दिइने जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै