• २०८३ जेठ ३० शनिबार

वलमार्टले व्यवसायलाई प्रभावकारी बनाउन एआईको प्रयोग व्यापक रुपमा गर्ने

वलमार्टले व्यवसायलाई प्रभावकारी बनाउन एआईको प्रयोग व्यापक रुपमा गर्ने

काठमाडौँ । विश्वकै ठूलो खुद्रा व्यापार शृङ्खलामध्ये एक वलमार्टले आफ्नो व्यवसायलाई अझ प्रभावकारी र तीव्र बनाउन कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग व्यापक रूपमा विस्तार गर्ने रणनीति अघि सारेको छ ।

कम्पनीको वार्षिक बैठकमा वलमार्टका प्रमुख कार्यकारी अधिकृत जोन फर्नरले कृत्रिम बुद्धिमत्तालाई कम्पनीको भविष्यको मुख्य आधारका रूपमा प्रस्तुत गर्दै यस प्रविधिको प्रयोग सबै कर्मचारीसम्म पुर्‍याउने लक्ष्य रहेको बताएका छन् ।

विश्वभर हजारौं पसल, करोडौं साप्ताहिक ग्राहक र २० लाखभन्दा बढी कर्मचारी रहेको वलमार्टले अब सामान छनोट, ढुवानी व्यवस्थापन, ग्राहक प्रतिक्रिया विश्लेषणदेखि लिएर दैनिक सञ्चालनका अधिकांश कार्यमा कृत्रिम बुद्धिमत्ताको प्रयोग गरिरहेको जनाएको छ ।

फर्नरका अनुसार कम्पनीका सबै कर्मचारीले कृत्रिम बुद्धिमत्ता सम्बन्धी उपकरण प्रयोग गर्न सिक्नुपर्ने र त्यसबाट आफ्नो कामलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ । यस क्रममा कम्पनीले आफ्नै प्राविधिक टोलीद्वारा विकसित ‘कोड पपी’ नामक उपकरणलाई विशेष प्राथमिकता दिएको छ ।

यो उपकरणले कर्मचारीहरूलाई आफ्नै तहबाट प्राविधिक समस्या समाधान गर्न तथा नयाँ उपायहरू विकास गर्न सहयोग पुर्‍याउने बताइएको छ ।

वलमार्टले नयाँ र उपयोगी विचारहरू प्रत्यक्ष रूपमा अग्रपंक्तिमा काम गर्ने कर्मचारीहरूबाट आउनुपर्ने विश्वास राखेको छ । कम्पनीले जहाँबाट उत्कृष्ट विचार आउँछ, त्यसलाई विश्वव्यापी रूपमा लागू गर्ने नीति लिएको जनाएको छ ।

फर्नरले भारतको बेंगलुरु होस् वा क्यानडाको टोरन्टो, उत्कृष्ट विचार जहाँबाट आए पनि त्यसलाई अपनाइने र ठूलो स्तरमा विस्तार गरिने बताएका छन् । वलमार्टले कृत्रिम बुद्धिमत्ता कम्पनी ओपनएआईसँग सहकार्य गर्दै कर्मचारीहरूका लागि विशेष प्रमाणिकरण कार्यक्रम पनि सुरु गरेको छ। यस कार्यक्रममार्फत कर्मचारीहरूले कृत्रिम बुद्धिमत्ताको प्रयोग गरेर कार्यस्थलका समस्या समाधान गर्न सक्नेछन् ।

कम्पनीका एक ढुवानी व्यवस्थापकले कृत्रिम बुद्धिमत्ता आधारित प्रणाली विकास गरेका छन्, जसले सवारी मार्ग व्यवस्थापनमा सहयोग पुर्‍याएको छ । यसबाट खाली सवारीसाधनको आवागमन घटेको र चालकहरूको समय बचत भएको कम्पनीको दाबी छ ।

वलमार्टले ग्राहकलाई ताजा र गुणस्तरीय खाद्य सामग्री उपलब्ध गराउन कृत्रिम बुद्धिमत्ताको प्रयोगलाई थप विस्तार गरेको छ । अहिले प्रणालीले ग्राहकको अर्डर अनुसार सामान छनोट गर्ने मार्ग मात्र होइन, खाद्य सामग्री तयार गर्ने उचित समयसमेत निर्धारण गर्न थालेको छ । यसले ग्राहकसम्म ताजा तथा तताइएको खाना समयमै पुग्ने सुनिश्चित गर्ने कम्पनीको भनाइ छ ।

ग्राहक सन्तुष्टि मापनका लागि परम्परागत पाँच तारे मूल्याङ्कन प्रणालीको सट्टा वलमार्टले अब उन्नत कृत्रिम बुद्धिमत्ता विश्लेषण प्रयोग गरिरहेको छ ।

करिब एक लाख ५० हजार सदस्य रहेको सामुदायिक समूहका छलफल, प्रतिक्रिया र भिडियो सामग्रीको विश्लेषण गरेर ग्राहकले के भनिरहेका छन् भन्ने मात्र होइन, उनीहरूको भावना र मनोविज्ञानसमेत बुझ्ने प्रयास भइरहेको कम्पनीले जनाएको छ । वलमार्टका अनुसार कृत्रिम बुद्धिमत्ताको प्रयोगले सञ्चालन खर्च घटाउने, सेवा गुणस्तर सुधार गर्ने तथा ग्राहक अनुभवलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै