• २०८३ जेठ ३० शनिबार

जंगली जनावरका कारण किसानले भोगेका समस्याप्रति राज्य गम्भीर नभएको पोखरेलको आरोप

जंगली जनावरका कारण किसानले भोगेका समस्याप्रति राज्य गम्भीर नभएको पोखरेलको आरोप

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जंगली जनावरका कारण किसानले भोगिरहेको समस्याप्रति राज्य गम्भीर नभएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले जंगली जनावरले कृषि बाली नष्ट गरेपछि किसानहरू पीडित बनेको अवस्था चिन्ताजनक रहेको उल्लेख गरेका छन् । किसानहरूले बालीमा भएको क्षति देखाउँदै आक्रोश र पीडा व्यक्त गरिरहेका दृश्यले सबैलाई भावुक बनाइरहेको भए पनि राज्यका निकायहरू अन्तर्राष्ट्रिय सम्झौता र कानुनी व्यवस्थाका कारण समस्याबाट विमुख भइरहेको उनको भनाइ छ ।

पोखरेलले अन्तर्राष्ट्रिय सम्झौता र कानुनको बहाना देखाएर किसानलाई आफ्नै थातथलो र खेतीपातीबाट विस्थापित गर्न नहुने बताएका छन्। बाँदर, बँदेल र दुम्सीको आतंकका कारण कृषिमा निर्भर किसानहरू विस्थापित हुने अवस्था सिर्जना भएको उल्लेख गर्दै उनले प्रकृति र मानवबीच सन्तुलन आवश्यक भए पनि त्यसका नाममा मानिसको उठिबास लाग्ने अवस्था स्वीकार्य नहुने बताएका छन् ।

उनले अब ढिलाइ नगरी सर्वदलीय बैठक बोलाएर यस विषयमा स्पष्ट राष्ट्रिय दृष्टिकोण बनाउनुपर्ने आवश्यकता औँल्याउदै संरक्षण क्षेत्रभित्र रहेका वन्यजन्तुको संरक्षणमा विशेष ध्यान दिनुपर्ने र आवश्यक परे संरक्षण क्षेत्र विस्तार गर्न सकिने उनको धारणा छ । तर कृषियोग्य क्षेत्रका लागि छुट्टै नीति आवश्यक रहेको बताउँदै उनले कृषि उत्पादन र किसान दुवैको संरक्षण हुने गरी नीति तथा कानुन निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

पोखरेलले किसानका समस्या समाधानका लागि ठोस कदम चाल्न अब धेरै ढिला भइसकेको समेत उल्लेख गरेका छन्।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै