काठमाडौँ । भूमि प्रशासन कार्यालय, मनाङमा कार्यरत नायब सुब्बा ज्ञानराज कण्डेल घुस लिएको आरोपमा पक्राउ परेका छन् ।
जग्गा रोक्का गर्ने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
अख्तियारका अनुसार कण्डेलले सेवाग्राहीबाट घुसस्वरूप ४० हजार रुपैयाँ लिइसकेको अवस्थामा पक्राउ परेका हुन् । उनको साथबाट घुसको रकम ४० हजार रुपैयाँसहित स्रोत नखुलेको २१ हजार ७० रुपैयाँ पनि बरामद गरिएको आयोगले जनाएको छ । कण्डेललाई शनिबार नियन्त्रणमा लिइएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।









