• २०८३ असार १ सोमबार

अमेरिकासँगको सम्झौता बारे इरानमा अन्तिम निर्णय हुन बाँकी

अमेरिकासँगको सम्झौता बारे इरानमा अन्तिम निर्णय हुन बाँकी

काठमाडौं । अमेरिका र इरानबीच सम्भावित सम्झौताबारे छलफल जारी रहे पनि इरानले हालसम्म कुनै अन्तिम निर्णय नभएको स्पष्ट गरेको छ ।

इरानी समाचार संस्था फार्सका अनुसार प्रस्तावित समझदारीपत्रका राजनीतिक, कानुनी र प्राविधिक पक्षहरूको समीक्षा भइरहेको छ र तेहरानले अझै यसलाई अन्तिम स्वीकृति दिएको छैन ।

यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सम्झौता छिट्टै टुंगोमा पुग्ने दाबी गरेका छन् । उनका अनुसार प्रस्तावित सम्झौताले इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नेछ र त्यसपछि होर्मुज जलडमरूमध्य सबै देशका लागि खुला रहनेछ ।

यसैबीच कतारको एक प्रतिनिधिमण्डल आइतबार तेहरान पुगेको छ । प्रतिनिधिमण्डलले इरानी अधिकारीहरूसँग अमेरिका-इरानबीच जारी कूटनीतिक प्रयासबारे छलफल गरेको छ । कतारले दुवै पक्षबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको विश्वास गरिएको छ ।

सम्भावित सम्झौताविरुद्ध इरानभित्र विरोध पनि बढ्दै गएको छ । मशहदमा प्रदर्शनकारीहरूले विदेशमन्त्री अब्बास अराघची र संसद् अध्यक्ष मोहम्मद बाकर गालिबाफविरुद्ध नाराबाजी गरेका छन् ।

कट्टरपन्थी समूह, रूढीवादी नेताहरू र सरकारी सञ्चारमाध्यमका केही पक्षले अमेरिकासँगको सम्झौता इरानको झुकावका रूपमा देखिने तथा युद्धका क्रममा प्राप्त उपलब्धि कमजोर बन्न सक्ने बताएका छन् । विरोधी समूहहरूले विदेश मन्त्रालय बाहिर प्रदर्शन गर्ने तयारीसमेत गरेका छन् । उनीहरूको मुख्य निशानामा अमेरिका–इरान वार्ताको नेतृत्व गरिरहेका विदेशमन्त्री अराघची रहेका छन् । यद्यपि इरानको शीर्ष नेतृत्व भने हाल एकजुट देखिएको छ । सर्वोच्च नेता, राष्ट्रपति, विदेशमन्त्री, संसद् अध्यक्ष र सैन्य नेतृत्वले अमेरिकासँगको वार्ता राष्ट्रिय हितका लागि भइरहेको सन्देश दिइरहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै