काठमाडौँ । सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आइपिओको बाँडफाँड सम्पन्न भएको छ । लक्की ड्र प्रणालीमार्फत ४ लाख ६७ हजार ४ सय ४०० आवेदकले १०-१० कित्ता सेयर पाएका छन् ।
कम्पनीले जेठ १८ देखि २१ गतेसम्म सर्वसाधारणका लागि ४६ लाख ७४ हजार कित्ता सेयर आइपिओ निष्काशन गरेको थियो ।
कम्पनीको चुक्ता पुँजी २ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । यसको ३० प्रतिशत अर्थात ८५ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । त्यसमध्ये १० प्रतिशत (२८ लाख ५० हजार कित्ता) परियोजना प्रभावित बझाङका स्थानीयका लागि र २० प्रतिशत (५७ लाख कित्ता) सर्वसाधारणका लागि निष्काशन गरिएको थियो ।
सर्वसाधारणतर्फको सेयरमध्ये १० प्रतिशत अर्थात ५ लाख ७० हजार कित्ता विदेशमा कार्यरत नेपालीका लागि छुट्याइएको थियो । त्यस्तै ३ प्रतिशत (१ लाख ७१ हजार कित्ता) कर्मचारी र ५ प्रतिशत (२ लाख ८५ हजार कित्ता) सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो ।
बाँकी ४६ लाख ७४ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको थियो, जसको बाँडफाँट आज सम्पन्न भएको हो ।
आइपिओका लागि कुल २७ लाख २७ हजार ५१५ वैध आवेदनमार्फत २ करोड ९७ लाख ५० हजार २१० कित्ता माग परेको थियो । त्यस्तै २७ हजार ७२९ आवेदन अस्वीकृत भएका थिए ।
आइपिओको नतिजा सीडीएससी, मेरो सेयर तथा सानिमा क्यापिटलको वेभसाइटबाट हेर्न सकिनेछ ।









