• २०८३ असार ५ शुक्रबार

दक्षिण कोरियालाई हराउदै मेक्सिको विश्वकपको नकआउट चरणमा

दक्षिण कोरियालाई हराउदै मेक्सिको विश्वकपको नकआउट चरणमा

काठमाडौँ । सह-आयोजक मेक्सिकोले जारी फिफा विश्वकपमा नकआउट चरणमा पुग्ने पहिलो राष्ट्र बनेको छ । दक्षिण कोरियामाथि १-०  गोलको जित निकाल्दै मेक्सिकोले नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

मेक्सिकोका मिडफिल्डर लुइस रोमोले ५०औँ मिनेटमा सहज प्रहार गर्दै निर्णायक गोल गरेका थिए । दक्षिण कोरियाका गोलकिपर किम सुङ ग्यु आफ्नै सहकर्मी ली गि ह्युकसँगको ठोक्किएपछि बल नियन्त्रण गर्न नसक्दा गोल सम्भव भएको थियो ।

दक्षिण कोरियाले खेलमा फर्कने राम्रो अवसर ८७औँ मिनेटमा पाएको थियो । चो गुए सुङको नजिकबाट गरेको हेडरलाई मेक्सिकोका गोलकिपर राउल राङ्गेलले उत्कृष्ट बचाउ गरेका थिए । त्यसपछि याङ ह्युन जुनको रिबाउन्ड प्रहार पनि उनले रोकिदिएका थिए ।

यसअघि कप्तान सोन ह्युङ मिनले राङ्गेललाई बिट गर्दै गोलको प्रयास गरेका थिए । तर एडसन अल्भारेजले गोललाइनमा बचाउ गरे, यद्यपि उक्त अवस्थामा उनी अफसाइडमा थिए ।

पहिलो हाफमा कमजोर प्रदर्शनपछि घरेलु दर्शकले हाफटाइममै टोलीलाई हुटिङ गरेका थिए । त्यसपछि दोस्रो हाफमा मेक्सिकोले खेल सुधार गर्दै ७५औँ मिनेटमा राउल हिमेनेजमार्फत अर्को गोल नजिक पुगे पनि उनको प्रहार बचाएको थियो  । सब्स्टिच्युट ओबेद वर्गासको शक्तिशाली प्रहारलाई पनि कोरियाली गोलकिपरले अन्त्यतिर राम्रो बचाउ गरेका थिए ।

यस जितसँगै मेक्सिकोले विश्वकपमा लगातार जितको यात्रा कायम राखेको छ । प्रशिक्षक हाभियर अगिरेको टोलीले अब समूह ‘ए’ को शीर्ष स्थान सुनिश्चित गर्न चेक गणतन्त्रसँगको अन्तिम खेलमा बराबरी खेले मात्र पुग्ने भएको छ । समूह विजेता बने मेक्सिकोले नकआउट चरणका खेल मेक्सिको सिटीमा खेल्नेछ, जहाँ सम्भावित रूपमा इङल्याण्डसँग पनि सामना हुन सक्नेछ ।

हारका बाबजुद दक्षिण कोरिया भने पहिलो खेलमा चेक गणतन्त्रलाई हराएकाले नकआउट चरण पुग्ने सम्भावनामा अझै बलियो अवस्थामा छ । अब उसले दक्षिण अफ्रिकासँग निर्णायक खेल खेल्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै