काठमाडौँ । दक्षिणी लेबनानमा हिजबुल्लाहले गरेको आक्रमणमा एक ट्याङ्क बटालियन कमान्डरसहित चार इजरायली सैनिकको मृत्यु भएको छ ।
इजरायली सेनाले शुक्रबार दक्षिणी लेबनानको कफर तेबनित गाउँमा भएको आक्रमणमा सैनिकहरू मारिएको जनाएको हो ।
मृत्यु हुने अधिकारी ३२ वर्षीय लेफ्टिनेन्ट कर्नेल डोर गेडालिया बेन सिम्होन रहेको बताइएको छ। उनी इजरायलको ४०१ औँ बख्तरबन्द ब्रिगेडअन्तर्गत ५२ औँ बटालियनका कमान्डर थिए ।
प्रारम्भिक जानकारीअनुसार उनी सवार ट्याङ्कलाई शंकास्पद मानवरहित विमान वा ट्याङ्कविरोधी क्षेप्यास्त्रबाट निशाना बनाइएको थियो । उक्त आक्रमणमा ट्याङ्कभित्र रहेका चारै जना सैनिकको घटनास्थलमै मृत्यु भएको इजरायली सेनाले जनाएको छ ।
यद्यपि विस्फोटको वास्तविक कारण बारे अझै पुष्टि नभएको र घटनाको विस्तृत अनुसन्धान भइरहेको इजरायली सेनाले जनाएको छ ।









