बैतडी । बैतडीको दशरथचन्द नगरपालिका-०४ स्थित साईलेक क्षेत्रमा पर्ने दशरथचन्द राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने १० जना घाइते भएका छन् ।
शुक्रबार साँझ धनगढीबाट बैतडीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको सु.प्र.०१–००१ ख ३६४६ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब २५ देखि ३० मिटर तल खसेर दुर्घटना भएको हो ।
बस बैतडीको पाटन नगरपालिका–०८ निवासी ३७ वर्षीय केशव सिंह महराले चलाइरहेका थिए । दुर्घटनामा दशरथचन्द नगरपालिका–०६ निवासी ३५ वर्षीय वीरेन्द्र बहादुर चन्दको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनाका बेला चालकसहित १२ जना सवार रहेको उक्त बसमा चालक भने सकुशल रहेका छन्। घाइते भएका १० जनाको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









