• २०८३ कार्तिक १६ सोमबार

बंगालको खाडीमा शक्तिशाली चक्रवात ‘मुरासु’, भारतका विभिन्न राज्यमा सतर्कता

बंगालको खाडीमा शक्तिशाली चक्रवात ‘मुरासु’, भारतका विभिन्न राज्यमा सतर्कता

काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘मुरासु’ शक्तिशाली आँधीमा परिणत भएको छ ।

भारतीय मौसम विभागका अनुसार सोमबार बिहान चक्रवात चेन्नईबाट २६० किलोमिटर र नेल्लोरबाट २९० किलोमिटर टाढा रहेको थियो । प्रतिघण्टा २० किलोमिटरको गतिमा अघि बढिरहेको चक्रवात नोभेम्बर २ रातिदेखि ३ तारिख बिहानसम्म आन्ध्र प्रदेशको ओंगोल नजिक समुद्री तटमा ठोक्किने सम्भावना छ । त्यसबेला हावाको गति प्रतिघण्टा १०० देखि ११० किलोमिटरसम्म पुग्न सक्ने अनुमान गरिएको छ ।

एक साताभित्र बंगालको खाडीमा विकसित भएको यो दोस्रो चक्रवात हो । यसअघि अक्टोबर २८ मा ‘अर्नब’ नामको चक्रवात आन्ध्र प्रदेशको तटमा ठोक्किएको थियो । ‘मुरासु’ को प्रभाव मध्यप्रदेश, छत्तीसगढ, ओडिशा, आन्ध्र प्रदेश, तमिलनाडु, केरल, तेलंगाना, कर्नाटक र महाराष्ट्रसम्म पर्ने अनुमान गरिएको छ ।

भारतीय मौसम विभागले आन्ध्र प्रदेश, रायलसीमा र ओडिशामा तीव्र हावाहुरी तथा भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै ओरेन्ज चेतावनी जारी गरेको छ । नोभेम्बर २ र ३ मा ओडिशामा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ । तमिलनाडु, केरल, कर्नाटक, पुडुचेरी, तेलंगाना र छत्तीसगढमा एलो चेतावनी जारी गरिएको छ ।

नोभेम्बर ४ मा आन्ध्र प्रदेशमा आँधीहुरी र वर्षाको उच्च जोखिम रहेकाले रातो सतर्कता जारी गरिएको छ । छत्तीसगढ र ओडिशामा सुन्तला तथा मध्य महाराष्ट्र, विदर्भ, उत्तरी कर्नाटक, तेलंगाना, रायलसीमा, आन्ध्र प्रदेश र केरलमा एलो चेतावनी जारी गरिएको छ । यसैबीच, उत्तर प्रदेशका १० सहरमा सोमबार बिहान बाक्लो हुस्सु लागेको थियो भने बिहारको सुपौलमा हुस्सुका कारण दृश्यता ६० मिटरसम्म घटेको थियो । उत्तराखण्डका पाँच पहाडी जिल्लामा वर्षा र हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।

यता नेपालमा भने मौसम पूर्वानुमान महाशाखाले यो नयाँ चक्रवातले नेपालको मौसममा उल्लेखनीय प्रभाव पार्ने सम्भावना नरहेको बताएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै