काठमाडौँ । अन्तर्राष्ट्रिय बुवा दिवस आज विश्वभर मनाइँदैछ । हरेक वर्ष जुन महिनाको तेस्रो आइतबार विश्व समुदायले बुवाको सम्मानमा यो दिवस मनाउने गर्दछ ।
यस दिन पिताको सम्मान गरी जन्यजनक भाव सम्बन्धलाई प्रगाढ बनाउने परम्परा रहेको छ । श्रुतिस्मृतिमा ‘आत्मा वै पुत्रः’ अर्थात् कुनै पनि सन्तान व्यक्तिको आफ्नो स्वरूपको रूपमा जन्मिएको हुन्छ भनिएको छ । तसर्थ यस दिन पिताकै स्वरूपमा जन्म लिएका हरेक सन्तानले पिताको सम्मान गर्ने वैदिक कालदेखि नै परम्परा विकसित भएको पाइन्छ । आजको दिनमा पिता जीवित हुनेले मीठामीठा पक्वान्न तयार पारी खुवाउने, न्याना उपयोगी कपडाद्वारा सम्मान गर्ने, बुवाको मुख दर्शन गर्ने र प्रणाम गर्ने चलन रहेको छ भने पिताको देहावसान भइसकेकाहरूले चाहिँ पितृ मुक्तिको कामना गर्दै पितृ तर्पण वा दानदक्षिणा गर्ने गर्दछन् ।
परापूर्व कालदेखि नै मातृ देवो भव, पितृ देवो भव भन्ने नारालाई आत्मसाथ गर्दै आमा र बुवाको मुख हेर्ने दिनमा स्नेहपूर्वक रूपमा मनाउने सनातन दर्शनमा आमा र बुवालाई भगवान् सरह मान्यता दिइएको नै छ । चाहे जुनसुकै धर्म, दर्शन, संस्कार या जनावरहरू नै किन नहुन ? आमा बुवालाई पुज्ने चलन छ । यस क्रममा भारतमा बेलायती शासकहरूको शासन सुरुवात पछिका दिनमा नै जुन महिनाको तेस्रो आइतबार बुवाप्रति समर्पण गर्ने दिन मनाउने चलन स्थापना गरिएको थियो । क्रमशः यसै चलनलाई बेलायतीहरूले आफ्नो देशमा पनि थालनी गरिदिए र आज विश्वभर नै जुन महिनाको तेस्रो आइतबार अन्तर्राष्ट्रिय बुवा दिवस मनाउने चलन स्थापना भएको हो ।









