• २०८३ असार ९ मंगलबार

भारतको लखनउमा कोचिङ सेन्टरमा भीषण आगलागी, १४ विद्यार्थीको मृत्यु

भारतको लखनउमा कोचिङ सेन्टरमा भीषण आगलागी, १४ विद्यार्थीको मृत्यु

काठमाडौँ । भारतको उत्तर प्रदेशको राजधानी लखनउस्थित अलिगञ्ज क्षेत्रको पुरनियामा रहेको एक कोचिङ सेन्टरमा भीषण आगलागी हुँदा १४ विद्यार्थीको मृत्यु भएको छ । घटनामा धेरै विद्यार्थी घाइते भएका छन् भने केही अझै भवनभित्र फसेको आशंका गरिएको छ । 

आगलागीपछि भवनभरि बाक्लो धुवाँ फैलिँदा कोचिङ सेन्टरभित्र रहेका विद्यार्थीहरूमा भागदौड मच्चिएको थियो । ज्यान जोगाउन केही विद्यार्थीले माथिल्लो तलाबाट हाम फालेका थिए, जसका कारण उनीहरू गम्भीर घाइते भएका छन् ।

उद्धारका लागि छिमेकी घरको छतबाट कोचिङ सेन्टरको पर्खाल काटेर भित्र प्रवेश गर्ने प्रयास गरिएको बताइएको छ । 

यसैबीच, मुख्यमन्त्री योगी आदित्यनाथले राहत तथा उद्धारका लागि अधिकारीहरूलाई तत्काल परिचालन गरिएको र घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही गरिने बताएका छन् ।

स्थानीयवासीका अनुसार भवनबाट अचानक धुवाँ निस्किएको देखिएपछि तत्काल दमकल र प्रहरीलाई खबर गरिएको थियो । केही समयमै आगोले विकराल रूप लिएर सम्पूर्ण परिसरमा फैलिएको थियो ।

सूचना पाएलगत्तै दमकलका धेरै गाडी घटनास्थलमा पुगेका थिए । आगो नियन्त्रणमा लिनुका साथै विद्यार्थीहरूलाई सुरक्षित बाहिर निकाल्ने अभियान जारी छ । प्रत्यक्षदर्शीका अनुसार उक्त भवनमा पुस्तकालय वा कम्प्युटर तालिम सञ्चालन हुने संस्था रहेको थियो ।

हाल आगलागीको वास्तविक कारण खुलेको छैन। घटनाबारे विस्तृत विवरण तथा घाइतेहरूको आधिकारिक तथ्यांक सार्वजनिक हुन बाँकी छ । प्रहरी, दमकल र प्रशासनिक टोलीले उद्धार तथा अनुसन्धान कार्य जारी राखेको बताएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै