काठमाडौँ । कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो प्रयोगले कम्पनीहरूको कार्यक्षमता बढाउने अपेक्षा गरिए पनि यसले विश्वभर लाखौँ कर्मचारीको रोजगारीमा चुनौती थप्न थालेको छ । यसको पछिल्लो उदाहरण अमेरिकी प्रविधि कम्पनी ओरेकल बनेको छ, जसले २०२६ मा विश्वभर करिब २१ हजार कर्मचारी कटौती गरेको छ ।
कम्पनीका अनुसार कृत्रिम बुद्धिमत्ताको बढ्दो प्रयोगसँगै कार्यप्रणाली तीव्र रूपमा परिवर्तन भइरहेको छ र आगामी दिनमा पनि कर्मचारी संख्या थप घट्न सक्ने सम्भावना रहेको छ ।
सार्वजनिक वार्षिक प्रतिवेदनअनुसार ३१ मे २०२६ सम्म ओरेकलमा कार्यरत कर्मचारीको संख्या घटेर करिब एक लाख ४१ हजारमा पुगेको छ । एक वर्षअघि यो संख्या करिब एक लाख ६२ हजार थियो । यसरी कम्पनीको कुल कार्यबलमा करिब १३ प्रतिशतले कमी आएको छ ।
ओरेकलले आफ्नो विभिन्न सञ्चालन प्रक्रियामा कृत्रिम बुद्धिमत्ता प्रविधिको प्रयोग बढाउँदा कर्मचारी संख्या घटेको र भविष्यमा पनि यसको प्रभाव जारी रहने स्पष्ट पारेको छ ।
यद्यपि कम्पनीले कर्मचारी कटौतीको कारण केवल कृत्रिम बुद्धिमत्ता मात्र नभई व्यवस्थापन सुधार, उत्पादनसम्बन्धी परिवर्तन, कार्यसम्पादन मूल्याङ्कन, रणनीतिक पुनर्संरचना तथा विभिन्न कम्पनी अधिग्रहणजस्ता कारण पनि रहेको जनाएको छ ।
यसअघि मार्च महिनामै ओरेकलले ठूलो मात्रामा रोजगारी कटौती गर्ने संकेत दिएको थियो । त्यतिबेला कृत्रिम बुद्धिमत्ता डेटा केन्द्र विस्तारका लागि भएको ठूलो खर्चका कारण कम्पनीले नगद प्रवाहमा दबाब सामना गरिरहेको थियो ।
अध्यक्ष ल्यारी एलिसनको नेतृत्वमा ओरेकलले परम्परागत डेटाबेस सफ्टवेयर कम्पनीको छवि परिवर्तन गर्दै कृत्रिम बुद्धिमत्ता र क्लाउड कम्प्युटिङ क्षेत्रमा प्रमुख खेलाडी बन्ने प्रयास गरिरहेको छ । कम्पनीले ओपन एआईजस्ता ग्राहकका लागि विशाल कृत्रिम बुद्धिमत्ता डेटा केन्द्र निर्माण गरिरहेको छ । यस रणनीतिअन्तर्गत ओरेकलले अमेजन र माइक्रोसफ्टजस्ता कम्पनीसँग प्रतिस्पर्धा गरिरहेको छ । यी कम्पनीहरू पहिलेदेखि नै क्लाउड बजारमा बलियो अवस्थामा छन् ।
तर ओरेकलका लागि चुनौती भनेको अमेजन र माइक्रोसफ्टजस्तो बलियो नगद प्रवाह क्षमता नहुनु हो । त्यसैले विस्तार योजनाका लागि कम्पनीले ऋण र अतिरिक्त लगानीमा निर्भर हुनुपरेको छ । कम्पनीले हालै चालु आर्थिक वर्षमा आफ्नो पूँजीगत खर्च करिब ७० अर्ब डलरसम्म पुग्न सक्ने जनाएको थियो । यसका लागि ओरेकलले करिब ४० अर्ब डलर अतिरिक्त ऋण र सेयरमार्फत जुटाउने योजना बनाएको छ ।
कृत्रिम बुद्धिमत्ता केन्द्रित पुनर्संरचनाको लागत पनि उल्लेखनीय रूपमा बढेको छ । आर्थिक वर्ष २०२६ मा कम्पनीले कर्मचारीलाई प्रदान गरिएको सेवा समाप्ति सुविधा र अन्य पुनर्संरचना खर्चमा एक अर्ब ८४ करोड डलर खर्च गरेको छ ।
अघिल्लो आर्थिक वर्षमा भने यस्तो खर्च केवल ३७ करोड ४० लाख डलर मात्रै रहेको थियो ।









