काठमाडौँ । जारी फिफा फुटबल विश्वकप अन्तर्गत समूह ‘ई’ का अन्तिम खेलहरू आजराती हुदैछन् । दुई खेल बाँकी रहँदा यस समुहबाट जर्मनीले अन्तिम ३२ मा स्थान सुरक्षित गरिसकेको छ भने आइभरी कोस्ट, इक्वेडर र कुरासाओबीच दोस्रो स्थान तथा उत्कृष्ट तेस्रो टोलीको सम्भावनाका लागि कडा प्रतिस्पर्धा छ ।
आज राति नेपाली समय अनुसार १: ४५ बजेदेखि एकै समयमा जर्मनी र इक्वेडर तथा आइभरी कोस्ट र कुरासाओ आमने सामने हुदैछन् ।
दुई खेलबाट ६ अंक जोडेको जर्मनी समूह विजेता बन्न निश्चित भइसकेको छ । उसले पहिलो खेलमा कुरासाओलाई ७-१ ले हराएको थियो भने दोस्रो खेलमा आइभरी कोस्टलाई २-१ ले पराजित गरेको थियो ।
आइभरी कोस्टविरुद्ध जर्मनी निकै दबाबमा परेको थियो । फ्रान्क केसीले पहिलो हाफमा गोल गर्दै अफ्रिकी टोलीलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा बेन्चबाट आएका डेनिज उन्डाभले खेल बराबरीमा ल्याए । त्यसपछि इन्जुरी समयमा उनले विजयी गोल गर्दै जर्मनीलाई नकआउट चरणमा पुर्याए ।
अब प्रशिक्षक युलियन नागेल्समानले केही मुख्य खेलाडीलाई आराम दिन सक्ने सम्भावना छ । यद्यपि जर्मनीसँग लगातार १२औँ जित निकाल्दै राष्ट्रिय टोलीको कीर्तिमान बराबरी गर्ने अवसर पनि छ । जर्मनीले यसअघि सन् १९७९ देखि १९८० सम्म लगातार १२ खेल जितेको थियो । उन्डाभ प्रतियोगिताका सबैभन्दा प्रभावशाली खेलाडीमध्ये एक बनेका छन् । उनले तीन गोल र दुई सहयोगी पास दिएका छन् । विशेष कुरा के भने उनका सबै गोल बेन्चबाट मैदान प्रवेश गरेपछि आएका हुन् । जर्मनी विश्वकपको समूह चरणका सबै खेल जित्ने उपलब्धि चौथोपटक दोहोर्याउन चाहन्छ । यसअघि उसले सन् १९७०, १९७४ र २००६ मा यस्तो सफलता हासिल गरेको थियो ।
अर्कोतर्फ इक्वेडरका लागि यो खेल ‘गर या मर’ जस्तै बनेको छ । पहिलो खेलमा आइभरी कोस्टसँग १-० ले पराजित भएको इक्वेडर दोस्रो खेलमा कुरासाओसँग गोलरहित बराबरीमा रोकिएको थियो । दुई खेलमा गोल गर्न नसकेको इक्वेडरलाई अन्तिम ३२ मा पुग्न जर्मनीविरुद्ध जित आवश्यक छ । तर इतिहास र वर्तमान प्रदर्शन दुवैले उसको बाटो कठिन देखाएका छन् । इक्वेडरले प्रतियोगितामा हालसम्म १६ पटक लक्ष्यतर्फ प्रहार गरे पनि गोल गर्न सकेको छैन । अनुभवी फरवार्ड एनर भ्यालेन्सियाले पनि आठ प्रहार गर्दा गोल गर्न सकेका छैनन् । जर्मनीविरुद्धको खेलमा मैदान उत्रिए उनले विश्वकपमा इक्वेडरका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाउनेछन् ।
त्यसैगरी यस समूहको अर्को खेलमा आइभरी कोस्ट र कुरासाओ आमनेसामने हुँदैछन् ।
आइभरी कोस्टसँग हाल ३ अंक छ । इक्वेडरमाथि १-० को जित र जर्मनीसँग २-१ को हारपछि अफ्रिकी टोली दोस्रो स्थानमा छ । उसलाई अन्तिम ३२ मा पुग्न केवल एक अंक पर्याप्त हुनेछ । यदि इक्वेडरले जर्मनीलाई हराए पनि आइभरी कोस्टले कुरासाओसँग हार बेहोरेन भने उसले दोस्रो स्थान सुरक्षित गर्नेछ । कारण, इक्वेडरविरुद्धको हेड टू हेडमा आइभरी कोस्ट अगाडि छ । विश्वकप इतिहासमा आइभरी कोस्ट कहिल्यै नकआउट चरणमा पुगेको छैन । त्यसैले यसपटक इतिहास बनाउने अवसर उसको सामु छ ।
टोलीका यान डियोमान्दे उत्कृष्ट लयमा छन् । उनले दुई खेलमा आठ सफल ड्रिब्ल पूरा गरेका छन् । आइभरी कोस्टले जर्मनीविरुद्ध २० सफल ड्रिब्ल गरेको थियो, जुन विश्वकपमा उसको कीर्तिमानी प्रदर्शन हो ।
अर्कोतर्फ कुरासाओ प्रतियोगिताको सबैभन्दा ठूलो आश्चर्य बन्ने प्रयासमा छ । पहिलो खेलमा जर्मनीसँग ७-१ ले पराजित भए पनि दोस्रो खेलमा इक्वेडरलाई गोलरहित बराबरीमा रोक्दै उसले विश्वकप इतिहासको पहिलो अंक प्राप्त गरेको थियो । गोलरक्षक एलोय रुम त्यस खेलका नायक बने। उनले १५ बचाउ गर्दै इक्वेडरलाई गोल गर्न दिएनन् । कुरासाओसँग १ अंक छ । यदि उसले आइभरी कोस्टलाई हराउन सफल भयो र इक्वेडरले जर्मनीलाई हराउन सकेन भने अन्तिम ३२ मा पुग्ने सम्भावना जीवित रहनेछ । उत्कृष्ट तेस्रो स्थानको आधारमा पनि उसको आशा कायम रहन सक्छ । विङ्गर ताहित चोङ टोलीका प्रमुख खेलाडी बनेका छन्। उनले समूह ‘ई’ मा सबैभन्दा धेरै ९ सफल ड्रिब्ल पूरा गरेका छन् ।
यस समुहबाट अन्तिम ३२ मा पुग्ने सम्भावित अवस्थामा जर्मनी समूह विजेता बनिसकेको छ र अन्तिम ३२ मा आफ्नो स्थान सुनिश्चित गरिसकेको छ । आइभरी कोस्टले कुरासाओसँग बराबरी वा जित भए अन्तिम ३२ मा पुग्ने अवस्था रहेको छ । त्यस्तै इक्वेडरले जर्मनीलाई हराउनै पर्ने अवस्था छ भने त्यसपछि अर्को खेलको नतिजामा निर्भर रहेको छ ।
त्यसैगरी कुरासाओका लागि जित आवश्यक छ भने त्यसपछि उत्कृष्ट तेस्रो टोली वा अन्य नतिजा अनुसार मात्र नकआउट चरणको टुंगो लाग्ने छ ।
समूह ‘ई’ मा जर्मनीको शीर्ष स्थान सुरक्षित भइसके पनि दोस्रो स्थानको प्रतिस्पर्धा भने अन्तिम मिनेटसम्म रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ ।









