काठमाडौँ । हलिउडका चलचित्र निर्माता हार्भी वाइनस्टिनविरुद्धको बलात्कार तथा यौन दुर्व्यवहार मुद्दामा क्यालिफोर्नियाको पुनरावेदन अदालतले दोषी ठहर गर्ने फैसला कायम राख्दै उनलाई पुनः सजाय निर्धारण गर्न आदेश दिएको छ ।
तीन न्यायाधीश रहेको क्यालिफोर्नियाको दोस्रो जिल्ला पुनरावेदन अदालतको इजलासले सर्वसम्मत रूपमा उक्त निर्णय सुनाएको हो । अदालतले दोषी ठहर गर्ने निर्णय यथावत् राखे पनि यसअघि तोकिएको सजाय पुनः निर्धारण गर्नुपर्ने जनाएको छ ।
वाइनस्टिनका प्रवक्ताले अदालतको निर्णयप्रति निराशा व्यक्त गर्दै उनले निष्पक्ष सुनुवाइ नपाएको दाबी गरेका छन् । यद्यपि, अदालतले पुरानो सजाय यथावत् राख्न नमिल्ने निष्कर्ष निकाल्दै पुनः सजाय निर्धारण गर्ने निर्णयलाई भने उनले स्वीकार गरेका छन् ।
यो निर्णय न्यूयोर्कका सरकारी वकिलहरूले वाइनस्टिनविरुद्धको अर्को बलात्कार मुद्दामा चौथोपटक सुनुवाइ अघि नबढाउने निर्णय गरेको एक दिनपछि आएको हो । उजुरीकर्ताले पुनः अदालतमा उपस्थित भएर बयान दिन नसक्ने अवस्था रहेको बताएपछि उक्त मुद्दा अगाडि नबढाइएको हो ।
यद्यपि, वाइनस्टिन अझै पनि न्यूयोर्कमा अर्को यौन अपराधसम्बन्धी मुद्दामा दोषी ठहर भई जेल सजाय भोगिरहेका छन् । बलात्कारसम्बन्धी अर्को मुद्दामा भने यसअघि दिइएको फैसला रद्द भएपछि दुई पटकसम्म निर्णायक मण्डलले एकमत निर्णय दिन सकेको थिएन ।
७४ वर्षीय वाइनस्टिनलाई सन् २०२२ को डिसेम्बरमा क्यालिफोर्नियामा एक इटालीकी मोडल तथा अभिनेत्रीमाथि बलात्कार र दुई वटा यौन दुर्व्यवहारको घटनामा दोषी ठहर गरिएको थियो । त्यसबेला उनलाई १६ वर्षको जेल सजाय सुनाइएको थियो ।









