• २०८३ असार १३ शनिबार

जोर्डनविरुद्ध मेसी नखेल्ने

जोर्डनविरुद्ध मेसी नखेल्ने

काठमाडौँ । फिफा विश्वकप अन्तर्गत आइतबार बिहान हुने जोर्डनविरुद्धको समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले कप्तान लियोनेल मेसीलाई विश्राम दिने तयारी गरेको छ । मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले मेसी सुरुआती टोलीमा नहुने र आवश्यक परेपछि मात्र मैदान प्रवेश गर्ने बताएका छन् ।

अर्जेन्टिनाले जोर्डनविरुद्ध भोली बिहान ७: ४५ बजेदेखि खेल्दैछ । स्कालोनीले पत्रकार सम्मेलनमा मेसीलाई बेन्चमा राख्ने योजना रहेको जानकारी दिँदै टोलीमा परिवर्तन गर्नु आगामी नकआउट चरणलाई ध्यानमा राखेर गरिएको स्पष्ट पारेका छन्  । उनका अनुसार टोलीको छनोट अर्को प्रतिद्वन्द्वीलाई हेरेर नभई खेलाडीको अवस्था र रणनीतिका आधारमा हुनेछ ।

अर्जेन्टिनाले अल्जेरिया र अस्ट्रियामाथि लगातार जित निकाल्दै समूह ‘जे’ को विजेताका रूपमा अन्तिम ३२ मा स्थान सुरक्षित गरिसकेको छ । त्यसैले बायाँ तिघ्राको मांसपेशीको समस्याबाट गुज्रिरहेका मेसीलाई थप जोखिममा नराख्ने निर्णय गरिएको हो । यस विश्वकपमा पाँच गोल गरिसकेका मेस्सी हाल सर्वाधिक गोलकर्ताको दौडमा अग्रस्थानमा छन् ।

मेसीसँगै टोलीका अन्य केही नियमित खेलाडीलाई पनि विश्राम दिइने सम्भावना रहेको छ । गोलरक्षक एमिलियानो मार्टिनेज मात्रै नियमित सुरुआती टोलीमा रहन सक्ने अनुमान गरिएको छ ।

मेसीको स्थानमा निको पाज, जुलियन अल्भारेज, भालेन्टिन बार्को, फ्लाको लोपेज वा एक्सेकियल पालासियोसमध्ये एकलाई अवसर मिल्न सक्ने बताइएको छ । रक्षापङ्क्तिमा मार्कोस सेनेसी, निकोलस ओटामेन्डी र निकोलस टाग्लियाफिकोले पनि बढी समय खेल्ने सम्भावना छ ।

स्कालोनीले टोलीले अहिलेसम्म अपनाएको खेलशैलीलाई निरन्तरता दिने बताए । उनले जोर्डन बलियो प्रतिद्वन्द्वी भएकाले खेललाई हल्का रूपमा नलिइने र बल नियन्त्रण गर्दै खेलमा प्रभुत्व जमाउने रणनीति अपनाइने उल्लेख गरे ।

जोर्डनविरुद्धको खेलपछि अर्जेन्टिनाले अन्तिम ३२ को खेलमा समूह ‘एच’ को उपविजेता केप भर्डेसँग प्रतिस्पर्धा गर्ने निश्चित भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै