• २०८३ असार १५ सोमबार

विश्वकपको नकआउटमा आज राति आइभोरी कोस्ट र नर्वे भिड्दै

विश्वकपको नकआउटमा आज राति आइभोरी कोस्ट र नर्वे भिड्दै

काठमाडौँ । फिफा विश्वकप फुटबल अन्तर्गत अन्तिम ३२ मा आइभोरी कोस्ट र नर्वे पहिलो पटक एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्दैछन् । 

डलास रङ्गशालामा हुने यो खेल नेपाली समय अनुसार आज राति १०: ४५ बजेदेखि शुरु हुदैछ ।

यस खेलको विजेताले अन्तिम १६ मा स्थान बनाउनेछ, जहाँ जापानलाई पराजित गर्न सकेको अवस्थामा पाँच पटकको विश्वविजेता ब्राजिलसँग प्रतिस्पर्धा गर्ने सम्भावना रहेको छ ।

आइभोरी कोस्टका लागि यो विश्वकप इतिहासकै सबैभन्दा महत्वपूर्ण अवसर हो । चौथो पटक विश्वकपमा सहभागी भएको टोलीले पहिलो पटक समूह चरण पार गर्दै नकआउट चरणमा स्थान बनाएको हो । यस संस्करणमा आइभोरी कोस्टले विश्वकपमा पहिलो पटक दुई खेल जित्ने उपलब्धिसमेत हासिल गरेको छ । 'एलिफेन्ट्स' उपनामले परिचित टोलीले समूह चरणका तीनवटै खेलमा पहिलो गोल गरेको थियो । एकै संस्करणको विश्वकपमा यस्तो उपलब्धि नाइजेरियाले सन् १९९४ मा चार खेलमा हासिल गरेको थियो । प्रशिक्षक इमेर्से फाएको टोली समूह चरणभर जम्मा तीन मिनेट २९ सेकेन्ड मात्र पछि परेको थियो। त्यो पनि समूह विजेता जर्मनीसँग २-१ ले पराजित भएको खेलमा । त्यस हारपछि आइभोरी कोस्टले उत्कृष्ट पुनरागमन गर्दै कुरासाओलाई २-० ले हराएर अन्तिम ३२ मा स्थान सुरक्षित गरेको थियो । उक्त खेलमा निकोलस पेपे नायक बने । उनले दुई गोल गर्दै विश्वकपमा आइभोरी कोस्टका लागि सबैभन्दा छिटो गोल गर्ने कीर्तिमान बनाए । खेलको ६ मिनेट ४ सेकेन्डमै गोल गरेका उनले विश्वकपमा एकै खेलमा दुई गोल गर्ने दोस्रो आइभोरियन खेलाडी बन्ने सफलता पनि पाए । यसअघि अरुना डिन्डानेले सन् २००६ मा सर्बियाविरुद्ध दुई गोल गरेका थिए । ३१ वर्ष २७ दिनका पेपे विश्वकपको एक खेलमा दुई गोल गर्ने दोस्रो सबैभन्दा पाका अफ्रिकी खेलाडी पनि बने । यसअघि क्यामरुनका रोजर मिल्लाले सन् १९९० मा कोलम्बियाविरुद्ध ३८ वर्षको उमेरमा दुई गोल गरेका थिए ।

आइभोरी कोस्टको आक्रमणमा यान डियोमान्डेले पनि प्रभावशाली प्रदर्शन गरेका छन् । उनले समूह चरणमै १० पटक सफल ड्रिबल र १० अवसर सिर्जना गर्दै दक्षिण अफ्रिकाका क्विन्टन फर्च्युनपछि यस्तो उपलब्धि हासिल गर्ने दोस्रो अफ्रिकी खेलाडी बनेका छन्।

उता, २८ वर्षपछि विश्वकपमा फर्किएको नर्वेको यात्रामा इर्लिङ हालान्ड मुख्य आकर्षण बनेका छन् । उनले पहिलो दुई खेलमै चार गोल गर्दै इराकमाथि ४-१ र सेनेगलमाथि ३-२ को जित दिलाएका थिए । समूह चरणको अन्तिम खेलमा फ्रान्सविरुद्ध नर्वेले पहिले नै नकआउट चरणमा स्थान पक्का गरिसकेको कारण प्रशिक्षक स्टोले सोलबाकेनले टोलीमा व्यापक परिवर्तन गरेका थिए । हालान्ड विश्राममा बसेका थिए । त्यस खेलमा फ्रान्सका उस्मान डेम्बेलेले ह्याट्रिक गर्दै टोलीलाई ४-१ को जित दिलाएका थिए । यो नर्वेको पछिल्ला १९ खेलमा दोस्रो हार मात्र थियो । साथै, कुनै प्रमुख प्रतियोगितामा दुईभन्दा बढी गोल खाएको यो पहिलो खेल पनि बन्यो ।

अब नकआउट चरणमा सोलबाकेनले आफ्नो बलियो टोली मैदान उतार्ने अपेक्षा गरिएको छ । कप्तान मार्टिन ओडेगार्ड, अलेक्जान्डर सोर्लोथ र हालान्ड पुनः सुरुआती रोजाइमा फर्कने सम्भावना छ । यदि हालान्डले यस खेलमा दुई वा सोभन्दा बढी गोल गर्न सके, उनले विश्वकपका लगातार पहिलो तीन खेलमै कम्तीमा दुई गोल गर्ने सन् १९५४ पछि पहिलो खेलाडी बन्नेछन् । यसअघि हंगेरीका सान्डोर कोचिसले यस्तो उपलब्धि हासिल गरेका थिए । नर्वेका लागि यो विश्वकप इतिहासको तेस्रो नकआउट खेल हुनेछ । यसअघि टोलीले सन् १९३८ र १९९८ मा इटालीसँग खेलेका दुवै नकआउट खेल गुमाएको थियो । यद्यपि, सन् २०२२ को सेप्टेम्बरपछि नर्वे लगातार दुई खेलमा पराजित भएको छैन ।

अफ्रिकी राष्ट्रमध्ये विश्वकपको पहिलो नकआउट खेल जित्ने टोली हालसम्म दुई मात्र छन् । क्यामरुनले सन् १९९० मा रोजर मिल्लाको प्रेरणादायी प्रदर्शनमा कोलम्बियालाई हराएको थियो भने सेनेगलले सन् २००२ मा स्विडेनलाई पराजित गरेको थियो ।

यी दुई टोलीबीचको यो पहिलो भेट हुनेछ । आइभोरी कोस्टले युरोपेली टोलीविरुद्ध विश्वकपमा खेलेका पाँच खेलमध्ये केवल एक जितेको छ, एक बराबरी खेलेको छ भने तीन खेल गुमाएको छ। यस वर्षको विश्वकपमा पनि जर्मनीसँग अन्तिम समयमा २-१ ले पराजित भएको थियो ।

नर्वेको भने अफ्रिकी टोलीविरुद्धको समग्र कीर्तिमान बलियो छ । अफ्रिकी राष्ट्रसँग खेलेका १९ खेलमध्ये उसले नौ जितेको, आठ बराबरी खेलेको र केवल दुई खेल हारेको छ । विश्वकपमा अफ्रिकी टोलीविरुद्ध खेलेका दुई खेलमध्ये सेनेगललाई ३-२ ले हराएको थियो भने मोरक्कोसँग २-२ को बराबरी खेलेको थियो ।

दुवै टोली पहिलो पटक आमनेसामने हुँदै गर्दा इतिहास र नयाँ कीर्तिमान बनाउने अवसर दुवैका लागि खुला रहेको छ । आइभोरी कोस्ट आफ्नो स्वर्णिम यात्रालाई अझ लम्ब्याउने लक्ष्यमा हुनेछ भने नर्वे हालान्डको गोल वर्षासँगै विश्वकपमा आफ्नो उत्कृष्ट प्रदर्शन दोहोर्‍याउने योजनामा मैदान उत्रिनेछ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै