चितवन । वर्षायाममा पहिरोका कारण सडक अवरुद्ध हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सडक डिभिजन भरतपुरले आफ्नो कार्यक्षेत्रभित्र पर्ने मुग्लिन-नारायणगढ सडकखण्ड र कालिगण्डकी करिडोरका विभिन्न स्थानमा यान्त्रिक उपकरण तयारी अवस्थामा राखेको जनाएको छ ।
डिभिजनका अनुसार निरन्तर वर्षासँगै पहिरो खस्ने सम्भावना बढेकाले सडक अवरुद्ध भएलगत्तै तत्काल पहिरो पन्छाएर सवारी आवागमन सहज बनाउन अपरेटरसहितका उपकरण परिचालनका लागि तयारी गरिएको हो ।
मुग्लिन क्याम्पमा एक वटा लोडर, सेती दोभान क्याम्पमा एक वटा उत्खनन यन्त्र, एक वटा लोडर र एक वटा पछाडि खन्ने लोडर राखिएको डिभिजन कार्यालयले जानकारी दिएको छ । त्यस्तै, सडक डिभिजन भरतपुर परिसरमा एक वटा पछाडि खन्ने लोडर तयारी अवस्थामा राखिएको छ भने कालिगण्डकी करिडोरमा पनि एक वटा लोडर तैनाथ गरिएको डिभिजनले जनाएको छ ।
सडक डिभिजनले वर्षायामभर सडक खुला राख्न आवश्यक जनशक्ति र उपकरण तयारी अवस्थामा राखिएको उल्लेख गर्दै यात्रु तथा सवारी चालकलाई मौसमको अवस्था हेरेर मात्र यात्रा गर्न आग्रह गरेको छ ।









