• २०८३ असार २१ आइतबार

रुसको सेन्ट पिटर्सबर्गको प्रमुख तेल टर्मिनलमा युक्रेनको ड्रोन आक्रमण

रुसको सेन्ट पिटर्सबर्गको प्रमुख तेल टर्मिनलमा युक्रेनको ड्रोन आक्रमण

काठमाडौँ । युक्रेनले रूसको उत्तरपश्चिमी सहर सेन्ट पिटर्सबर्गस्थित एक प्रमुख तेल टर्मिनलमा ड्रोन आक्रमण गरेको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त तेल टर्मिनल रूसको युद्धका लागि आम्दानी जुटाउने महत्वपूर्ण पूर्वाधार भएको दाबी गरेका छन् । युक्रेनले सोही क्षेत्रमा रहेको रूसको एक प्रमुख नौसैनिक अड्डामा पनि आक्रमण गरिएको जनाएको छ ।

सेन्ट पिटर्सबर्गका गभर्नर अलेक्जान्दर बेग्लोभले सहरमाथि ठूलो परिमाणमा ड्रोन आक्रमण भएको स्वीकार गर्दै तेल टर्मिनलमा क्षति पुगेको जानकारी दिएका छन् । उनका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन ।

हालका महिनाहरूमा युक्रेनले रूसका ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै लामो दूरीका ड्रोन आक्रमण तीव्र बनाएको छ । ती आक्रमणका कारण रूसका विभिन्न क्षेत्रमा इन्धन आपूर्तिमा समस्या देखिएको युक्रेनको दाबी छ । युक्रेनका अनुसार रूसको करिब ४३ प्रतिशत तेल प्रशोधन क्षमता निष्क्रिय बनाइएको छ । यद्यपि यो दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।

युक्रेनले रूसले युद्ध सञ्चालनका लागि तेल र ग्यास निर्यातबाट ठूलो आम्दानी गर्ने भएकाले ती पूर्वाधारहरू वैध सैन्य लक्ष्य भएको बताउदै आएको छ । 

जेलेन्स्कीका अनुसार आक्रमण गरिएका स्थानहरू युक्रेनको सीमाबाट करिब ८५० किलोमिटर टाढा रहेका छन् । उनले सार्वजनिक गरेको भिडियोमा ड्रोन लक्ष्यतर्फ उड्दै गरेको तथा आक्रमणपछि बाक्लो कालो धुवाँ आकाशमा फैलिएको दृश्य देखिएको छ । युक्रेनी सेनाले उक्त तेल टर्मिनल रूसकै सबैभन्दा ठूलोमध्ये एक रहेको र वार्षिक करिब एक करोड २५ लाख टन पेट्रोलियम पदार्थ उत्पादन गर्न सक्ने क्षमता भएको जनाएको छ ।

गभर्नर बेग्लोभका अनुसार सेन्ट पिटर्सबर्ग र वरपरको लेनिनग्राड क्षेत्रमा युक्रेनका ७२ वटा ड्रोन खसालिएको छ । सेन्ट पिटर्सबर्गमा ५० लाखभन्दा बढी मानिस बसोबास गर्छन् ।

यसैबीच, युक्रेनको सेनाले पूर्वी युक्रेनको महत्वपूर्ण सहर कोस्त्यान्तिनिभ्का पूर्ण रूपमा रूसको नियन्त्रणमा गएको भन्ने दाबी अस्वीकार गरेको छ ।

युक्रेनी सेनाका प्रवक्ता मेजर आन्द्री कोभाल्योभले कोस्त्यान्तिनिभ्का अझै पनि युक्रेनको रक्षा बलको नियन्त्रणमै रहेको बताएका छन् । उनले केही साना रूसी पैदल सैनिक समूह युक्रेनी मोर्चाभित्र प्रवेश गरेको स्वीकार गरे पनि त्यस्ता समूहको पहिचान गरी नष्ट गरिरहेको दाबी गरेका छन् ।

रूसका राष्ट्रपति पुटिनले एक दिनअघि कोस्त्यान्तिनिभ्का जुन महिनामै रूसी नियन्त्रणमा आएको दाबी गरेका थिए । तर उनले त्यसको समर्थनमा कुनै प्रमाण सार्वजनिक गरेका छैनन् । यस विषयमा जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै यदि कोस्त्यान्तिनिभ्का वास्तवमै रूसको नियन्त्रणमा रहेको भए पुटिन त्यहीँ आएर आफूसँग भेट गरी युद्ध अन्त्यका लागि कूटनीतिक समाधान खोज्न सक्ने बताएका छन् । उनले वास्तविक अवस्था पुटिनको दाबीभन्दा फरक रहेको पनि उल्लेख गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै