काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले कर्णालीमा भएको बस दुर्घटना राज्यको चरम बेवास्ता र कर्णालीमाथिको खेलवाडको परिणाम भएको बताएकी छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद थापाले कर्णाली दुर्घटनाले सिंगो कर्णाली र देशलाई रुवाएको उल्लेख गर्दै यति लामो समय बितिसक्दा समेत राज्यबाट घटनाको सम्पूर्ण विवरण र यथार्थ सार्वजनिक हुन नसक्नु अत्यन्तै दुःखद भएको बताइन् ।
उनले भनिन्- ‘कर्णालीको सडकमा दिनहुँजसो रगत बगिरहेको छ । ती सडक आज सडक रहेनन्, मृत्यु मार्गजस्ता देखिएका छन् । अब कहिलेसम्म कर्णालीले यस्तो नियति भोग्नुपर्ने हो? हरेकपटक यात्रा गर्दा मानिसहरूले ज्यान हत्केलामा राखेर हिँड्नुपर्ने यो कस्तो व्यवस्था हो ?’
थापाले के कर्णालीवासीले स्वर्ग देख्न मरेरै जानुपर्ने हो ? भन्ने सरकारलाई प्रश्न गर्दै कर्णालीबासीको निधारमा अकाल मृत्यु मात्रै लेखिएको र दुर्घटनालाई राज्यको चरम बेवास्ता र कर्णालीमाथिको खेलवाड भएको बताएकी थिइन् ।
उनले तत्काल कर्णाली राजमार्गको स्तरोन्नति, सडक सुरक्षाको सुनिश्चितता तथा यस्ता दुर्घटना रोक्न तत्काल ठोस कदम चाल्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।









