काठमाडौँ । चीनका लागि नेपालका सात पूर्वराजदूतले सरकारलाई नेपालको एक चीन नीतिप्रतिको प्रतिबद्धता दृढतापूर्वक कायम राख्न आग्रह गरेका छन् ।
संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले नागार्जुनस्थित नामग्याल विद्यालयमा १४औँ दलाई लामाको ९१औँ जन्मोत्सव मनाइएको र कार्यक्रममा विदेशी कूटनीतिक नियोगका प्रतिनिधिहरू सहभागी भएको भन्ने समाचारप्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन् ।
पूर्वराजदूतहरूले नेपालले विगतदेखि नै एक चीन नीति अवलम्बन गर्दै आएको र नेपालको भूमिबाट कुनै पनि मित्रराष्ट्रविरुद्ध गतिविधि हुन नदिने प्रतिबद्धता जनाएको स्मरण गराएका छन् । उनीहरूले परराष्ट्रमन्त्रीको हालैको चीन भ्रमणका क्रममा पनि यही नीति दोहोरिएको उल्लेख गर्दै सरकारको धारणा परिवर्तन भएको हो भन्ने प्रश्न उठाएका छन् ।
उनीहरुले भनेका छन्- ‘यहि असार २२, २०८३ मा नागार्जुन नगरपालिका-२ स्थित नामग्यालविद्यालयमा १४औं दलाइ लामाको ९१ औं जन्मदिन मनाइएको र सो कार्यक्रममा विदेशी नियोगका प्रतिनिधिहरूको समेत सहभागिता रहेको भन्ने समाचारले हामी चीनका लागि पूर्व राजदूतहरू चिन्तित भएका छौं ।’
विज्ञप्तिमा उक्त कार्यक्रम सरकारको सहमतिमा भएको भए यसले नेपालको एक चीन नीतिविपरीत हुने, चीनसँगको कूटनीतिक सम्बन्धमा असर पार्न सक्ने तथा नेपालको भूराजनीतिक सन्तुलनसमेत कमजोर बनाउन सक्ने उल्लेख गरिएको छ । पूर्वराजदूतहरूले यस्ता गतिविधि नेपालको स्थायित्व, विकास र स्वतन्त्र हितका लागि प्रतिकूल हुन सक्ने भन्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चाल्न तथा छिमेकी मुलुकसँगको सम्बन्धमा संवेदनशील बन्न नेपाल सरकारलाई आग्रह गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ- 'नेपालले सधैं दृढतापूर्वक एक चीन नीति अपनाउँदै आएको, नेपालको भूमिबाट कुनै पनि मित्र राष्ट्रविरुद्ध अप्ठ्यारो हुने वा प्रतिकूल असर पार्ने कार्य नगर्ने तथा गर्न नदिने प्रतिबद्धता व्यक्त गर्दै आएको, र परराष्ट्रमन्त्री शिशिर खनालको हालैको चीन भ्रमणमा समेत दोहोर्याइएको त्यो प्रतिबद्धतामा परिवर्तन आएको हो ? के हामीले छिमेकसंगको परराष्ट्र नीति बदलेका हौं ? यदि यो कार्यक्रम सरकारको सहमतिमा भएको हो भने, नेपालले मित्र राष्ट्र चीनसंगको दौत्य सम्वन्धको स्थापना कालदेखि हालसम्म कायम राखेको एक चीन नीतिको प्रतिकूल गएको छ र यसले नेपालले अवलम्बन गर्दै आएको भूराजनैतिक सन्तुलनमा समेत प्रतिकूल असर पार्ने प्रष्ट देखिन्छ।’
राजदूतहरुले यस्तो गतिविधि हाम्रो देशको स्थायित्व, विकास र स्वतन्त्रताको लागि प्रत्युत्पादक हुने भएको नेपाल सरकार र सरोकारवालालाई सतर्क र सचेत रहनसमेत अपिल गरेका छन्। उनीहरुले भविष्यमा यस्ता गतिविधिहरू नदोहोरिने सुनिश्चितता प्रदान गर्न र छिमेकीसँगको सम्बन्धमा संवेदनशील हुन नेपाल सरकारको ध्यानाकर्षण गराएका छन्।
विज्ञप्तिमा चीनका लागि नेपालका पूर्वराजदूतहरु राजेश्वर आचार्य, महेन्द्र पाण्डे, टंक कार्की, महेश मास्के, लीलामणि पौडेल, बिष्णु पुकार श्रेष्ठ, कृष्ण प्रसाद ओलीले हस्ताक्षर गरेका छन् ।









