काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको १०० दिनको बारेमा टिप्पणी गर्दै सरकार होस हवासमा नरहेको बताएका छन् ।
बिहीबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकार फाँसीवादतर्फ हिडिरहेको टिप्पणी गर्दै लोकतन्त्र संकटमा परेको टिप्पणी गरेका हुन् ।
ओलीले सुकुम्बासी बस्तीमा डोजर चलाइएको, बालबालिका रोएको तथा विस्थापनका तस्बिरहरू सञ्चारमाध्यममै देखिएको भन्दै सरकारको कार्यशैली अधिनायकवादी भएको बताए ।
सरकारले कसैको कुरा नसुन्ने बताउदै देशमा कतैपनि खुशी हुने ठाउ नभएको टिप्पणी गरे । उनले भने- 'नेपालमा अहिले खुसी हुनका लागि त अन्तर्राष्ट्रिय फुटबल गेम चलिराखेको छ, राति अबेरसम्म त्यो हेरेर बस्नुपर्छ । एकछिन खुसी हुने हो, नत्र खुसी हुने कतै ठाउँ छैन ।'
ओलीले उम्लिएको दूध जस्तो सरकारको व्यबहार रहेको बताउदै सरकारको खुट्टा भुइमा नरहेको बताए । उनले भने- ‘अहिले यो सरकार कहाँ ठेगानमा छ ? यसका खुट्टा कहाँ भुइँमा छन् ? उम्लिएका छन् । दूध भाँडाको पिँधमा छैन, भाँडा भरि भएको छ, थोरै भए पनि उम्लिएको छ ।'
देशको अवस्था राम्रो नभएको बताउदै ओलीले त्यो काम एमालेले गर्ने बताए । ओलीले पार्टीको अवस्था प्रति धारणा राख्दै एमाले समाप्त नभएको र अगाडी बढ्ने र सफल हुने दाबि गरे ।









