काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले गोरखापत्र संस्थान र सार्वजनिक सेवा प्रसारण संस्थाको बाँकी वार्षिक लेखापरीक्षण आगामी पुस मसान्तभित्र अनिवार्य रूपमा सम्पन्न गर्न निर्देशन दिएका छन् ।
मन्त्रालयमा भएको छलफलमा उनले लेखापरीक्षणमा भएको ढिलाइले वित्तीय अनुशासन, बजेट कार्यान्वयन र सेवा प्रवाहमा असर परेको भन्दै यसलाई प्राथमिकताका साथ टुंग्याउन आग्रह गरेका हुन् ।
गोरखापत्र संस्थानको आर्थिक वर्ष २०७९/८० यताका लेखापरीक्षण बाँकी रहेकाले चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको चार करोड ६० लाख रुपैयाँ बजेट निकासा हुन सकेको छैन । यस्तै लोककल्याणकारी विज्ञापनबापत प्राप्त हुने रकमसमेत संस्थानले गुमाइरहेको मन्त्रालयले जनाएको छ ।
छलफलमा गोरखापत्रका महाप्रबन्धक हिक्मतबहादुर रावलले पुस मसान्तभित्र सबै बाँकी लेखापरीक्षण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । सार्वजनिक सेवा प्रसारण संस्थाले भने आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण अन्तिम चरणमा पुगेको र आगामी चैतभित्र चालु आर्थिक वर्षसम्मको लेखापरीक्षण सक्ने जनाएको छ ।









